महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइयो
कपन अनलाइन, २०७३, १४ कात्तिक
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उहाँको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उहाँको नाम लक्ष्मीप्रसाद राखिए पनि उहाँ सरस्वतीको प्रसाद बन्न पुग्नुभयो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवद्र्धक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु÷गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमतासमेत थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । यस अवसरमा आज नयाँ बस्ती युवा क्लबले आज जोरपाटीस्थित महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी विभिन्न साहित्यकारलाई सम्मान गरेको छ ।
चाबहिलस्थित शान्तिगोरेटो टोलका बुद्धिजीवी तथा समाजसेवीले महाकवि देवकोटाको १०७औँ जन्मजयन्ती विशेष कार्यक्रम आयोजना गरे । कार्यक्रममा कवि महेश्वर खनाल र रत्ननिधि रेग्मी शुक्राचार्यले महाकवि देवकोटाको सम्झनामा कविता वाचन गर्नुभयो ।
-रासस