स्वास्थ्यमन्त्री थापाद्वारा अनशनरत डा केसीसँग भेट
काठमाडौँ, १५ असोज ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले अनशनरत डा गोविन्द केसीसँग भेट गरी उहाँका मागका बारेमा सरकार गम्भीर रहेको अवगत गराउनुभएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पुगी मन्त्री थापाले सरकारले यसअघि गरेका सहमति पूरा गर्ने प्रक्रियामा रहेको जानकारी गराउनु भएको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताव पौडेलले जानकारी दिनुभयो ।
यही असोज १० गतेदेखि डा केसीले पुनः नवौँ आमरण अनशन सुरु गर्नुभएको छ । आइओएमको डिन नियुक्ति प्रक्रिया अविलम्ब अगाडि बढाउने सम्बन्धमा शिक्षा मन्त्रालयबाट आवश्यक निर्देशन भइसकेको र सातै प्रदेशमा कम्तीमा एउटा सरकारी चिकित्सा महाविद्यालय स्थापना गर्ने विषयमा मन्त्रालयले मन्त्रिपरिषद्मा कार्ययोजना पेस गरिसकेको मन्त्री थापाले डा केसीलाई जानकारी गराउनुभएको थियो ।
विगतदेखि नै डा केसीका मागप्रति सकारात्मक रहँदै आउनुभएका स्वास्थ्यमन्त्री थापाले केसीको मागअनुसार मनमोहन प्रतिष्ठानको विधेयक संसद्बाट फिर्ता लिई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले किन्ने सम्झौता भइसकेको जानकारी गराउनुभयो ।
त्यस्तै, चिकित्सा शिक्षा विधेयकमाथि संसद्मा छलफल गर्ने वातावरण बनिसकेको, विगतमा भएको सम्झौता र माथेमा कार्यदलको सुझावसमेत ध्यानमा राखी नयाँ चिकित्सा ऐन नबन्दासम्म नयाँ चिकित्सा शिक्षा महाविद्यालयलाई सम्बन्धन दिने प्रक्रिया सरकारले रोकिसकेको बताउनुभएको सल्लाहकार पौडेलले जानकारी दिनुभयो ।
चारबुँदे माग राखी विगतमा आठ पटकसम्म आमरण अनशन बस्नुभएका उहाँले चिकित्सा शिक्षा ऐन यही संसदबाट पारित गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने, चिकित्सा शिक्षाको शुल्क माथेमा आयोगले सुझाएअनुसार लिनुपर्ने र त्यसपछि शुल्क समायोजनका लागि बनाइएको समिति खारेज गर्नुपर्ने माग राख्नुभएको छ । रासस