सिन्धुपाल्चोकमा वन विनाश बढ्दो

कपन अनलाइन /मेलम्ची, २० भदौ ।

-आदित्य दाहाल

नेपालको पहिलो साक्षर जिल्ला घोषणा भएको सिन्धुपाल्चोक जिल्लाको अधिकांश वन पछिल्लो समयमा विनाश हुने क्रम बढेको छ ।

पहिलो साक्षर जिल्ला घोषणा भए पनि जिल्लाको सामुदायिक, निजी लगायतका अधिकांश वन फँडानी भने रोकिएको छैन । बिनाजानकारी रूख काट्ने तथा व्यापारिक हिसाबका लागि वनजङ्गल फँडानी गर्ने क्रम बढे पनि सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो अवस्था आएको स्थानीयवासीले आरोप लगाएका छन् ।

सामुदायिक वनको अवधारणासँगै विकास भएको जिल्लाको बाँसखर्क जङ्गल अहिले नाङ्गो भएको छ । विगत केही वर्षअगाडि सामुुदायिक समितिका अध्यक्षले वन कटान गराएपछि सो वन नाङ्गो भएको हो । २००७ सालदेखिनै समुदायबाट वृक्षरोपण र हेरचाहा गरी विकास गरिएको बाँसखर्क सामुदायिक वन विज्ञान शिक्षाको एउटा प्रसिद्ध शिक्षालयका रुपमा रहेको थियो । वनका विकास र संरक्षण अभियानका अगुवा लक्ष्मण दोङको मृत्यु भएपछि र गाउँमा दलीय विवाद बढेपछि वन विनाश हुन थालेको स्थानीय समाजसेवी पासाङ दोङले बताउनुभयो ।

यसरी वन विनाश हुने क्रम बढ्दै जाँदा र वन संरक्षणका अभावमा अब इतिहासमा सीमित हुने भएको दोङको अनुमान छ । बाँसखर्क वनसँगै जोडिएको शिखरपुर ज्यामिरे नर्सरी क्षेत्रको वनको विकासका आधारमा २०३४ सालदेखि समुदायले वन क्षेत्र विकास र संरक्षण गर्न सक्छन् भन्ने अवधारणा सुरु भएको थियो भने वन विज्ञान अध्ययन संस्थाका स्नातकका विद्यार्थीले २०५६ सालसम्म अनिवार्य रुपमा यहाँ १५ दिन अध्ययन अनुसन्धान गर्नैपर्ने त्रिविको नियम थियो । सो समयमा द्वन्द्वका कारण यो परम्परा हट्यो र समुदायका अघिल्लो पुस्ताका अगुवा सकिँदै गएपछि वन पनि मासिँदै गएका छन् ।

पछिल्लो समय भूकम्पले घर भत्किएपछि काठ तस्कर तथा घर निर्माण गर्ने भनेर काठ ल्याएर बेच्ने गरेको भेटिएको छ । बाँडेगाउँको सामुदायिक वनमा पनि भूकम्पपछि काठ तस्कर बढेको बाडेगाउँका स्थानीय युवा पासङ तामाङले बताउनुभयो । इलाका वन कार्यालय नवलपुरसँग व्यक्तिगत घर निर्माणका लागि चिरानीको कागज बनाउने र फर्निचरमा लगेर काठ बिक्री गर्ने गरेको भए पनि इलाका वन कार्यालयले चिरानीपश्चात् काठको घर निर्माणमा प्रयोग भए नभएको अनुगमन नगर्दासमेत वन फँडानी बढेको तामाङले बताउनुभयो । पटक पटक इलाका वन कार्यालयलाई जानकारी गराउँदासमेत त्यससम्बन्धी चासो नदिएकाले इलाका वन कार्यालयसँगको केही मिलोमतो भएको हुनसक्ने स्थानीयवासीले आरोप लगाएका छन् ।

त्यस्तै विभिन्न काम देखाएर तथा वन समितिको आँखा छलेर अनधिकृत रुपमा मेलम्ची नगरपालिका–१२ शिखरपुरमा रहेको डन्डिबियो वन मासिने क्रम तीव्र छ । सम्बन्धित निकायले कडाइ नगरेको र चासो नदिएकाले समेत यस्तो अवस्था आएको स्थानीयवासी भीमप्रसाद दुलाल बताउनुहुन्छ ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्रको नमुना सामुदायिक वन विकासमा महत्वपूर्ण योगदान अस्ट्रेलियन वन परियोजनाले दिएको थियो । तीसको दशकका प्रत्येक विद्यार्थीले सिन्धुपाल्चोकका खाली जमिनमा वृक्षरोपणमा पसिना बगाएका थिए । प्रायः हरेक विद्यालयले नर्सरी सञ्चालन गरेका थिए सामुदायिक वन विकासमा तत्कालीन पुस्ताले दिएको योगदान सम्झँदै अहिले वन नासिँदै गएकामा विद्यालय स्रोतव्यक्ति भक्तबहादुर खड्का चिन्ता प्रकट गर्नुहुन्छ ।

बाँसखर्कको वन समितिको अध्यक्षले ८० लाख रुपैयाँमा साल, साझ, उत्तिस र सल्लोका रूख सबै काटेर बेच्दासमेत अहिलेसम्म वन कार्यालयले कुनै चासो नदिएको पासाङ दोङ बताउनुहुन्छ । सामुदायिक वन क्षेत्र विकास भएको मेलम्ची र इन्द्रावती क्षेत्रको वन संरक्षणको दायित्व भएको वन रेक्टर कार्यालय मेलम्चीको कार्यालय २०६० सालमा माओवादीले जलाएपछि सो कार्यालय हालसम्म पनि पुनः स्थापना भएको छैन ।

नेपाली काँग्रेसका नेता तारानाथ दाहालले सामुदायिक वन समिति राजनीतिक अखडा भएको भन्दै वन जोगाउने भन्दापनि वनमाराले वन कब्जा गरेको आरोप लगाउनुभएको छ । बाँसखर्क र शिखरपुर वनबारे अनेकौँ पुस्तक, फिल्म र प्रचार सामग्री बनेका तथा संसारका धेरै विश्वविध्यालयमा त्यहाँ भएको विकासबारे पढाइ हुने गरे पनि हाल आएर ती वन उजाड हुनुले देशकै बेइज्जत हुन पुगेको दाहालले उल्लेख गर्नुभयो ।

मेलम्ची क्षेत्र र सिङ्गो सिन्धुपाल्चोक वन संरक्षण र विकासका लागि गर्व गरिने ठाउँ भए पनि पछिल्लो समयमा विनाश हुने क्रम बढेसँगै सामुदायिक वनको अवधारणा नै गलत हो कि भन्ने अवस्था सिर्जना भएको छ । रासस

तपाइँको प्रतिक्रिया ।