काभ्रेको तिमाल क्षेत्र तामाङ संस्कृतिले पर्यटकीय गन्तव्य बन्दै

TAAN-KTM-TO-KAVRE-Arthatantra-2
कपन अनलाइन, २६ साउन, २०७३

राजधानी काठमाडौँ नजिकै रहेर पनि सरोकारवालाको बेवास्ताका कारण महत्वपूर्ण पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकको तिमाल क्षेत्र ओझेलमा परेको छ । आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको सो क्षेत्रको पूर्वाधार विकास तथा प्रचारप्रसारको कमीले गर्दा पर्यटक पुग्न सकेका छैनन् । काठमाडौँदेखि करिब ७३ किलोमिटर दुरीको तिमाल क्षेत्र अनुपम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । समुद्री सतहदेखि एक हजार ९४० मिटर अग्लो तिमाल डाँडामाथि पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । लामो यात्राको थकान एकैछिनमा मेटिन्छ । फेदितिर सुनकोसीको नदी नागबेली बनेर बगेको छ । ग्रामीण जनजीवन, चिटिक्क मिलेका घरहरु, डाँडाकाडा, नदीसहितको पहाडी भौगोलिक दृश्यले यहाँ पुग्ने जोकोहीलाई आनन्दित तुल्याउँछ । पदयात्रासहित ग्रामीण पर्यटनको क्षेत्रको रुपमा यसको विकास गरिँदै लागिएको छ ।

डाँडाबाट दक्षिणतर्फ देखिने महाभारत चुरे पर्वतका हरिया डाँडा पखेरा, उत्तरतिर चाँदिका घेराझै टल्किएका हिमाल र लामो दुरीसम्म देखिने फाँट, र परम्परागत शैलीका नमुना बस्तीले थप सौन्दर्यता दिएको छ । यहाँबाट लाङटाङ, मनास्लु धौलागिरी क्षेत्रको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक र भौगोलिक विविधतासँगै यहाँको मुख्य आकर्षण भनेको तामाङ जातिको बस्ती र संस्कृति हो । गुरु रिम्पोछेको तपस्यास्थल यही भएकाले पनि तिमालको विशिष्ठता थपिएको छ । भन्डै एकसय ४० रोपनी क्षेत्रफलको तिमाल क्षेत्र स्थानीय पाँच (मेछे, चाँपाखुरी, नारायणस्थान, ठूलोपर्सेल र कानपुर) गाविसलाई समेटेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको हो ।

कानपुर_काभ्े_2014-02-12_05-15
तिमालको पर्यटन विकासका लागि टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले गुरुयोजनाका साथ अघि बढ्ने जमर्को गरेको छ । पर्यटनको प्रशस्त सम्भावना बोकेको यो क्षेत्रको व्यावसायिक प्रबद्र्धनका लागि यहाँका व्यवसायी उत्साहित देखिएका छन् । स्थानीयवासी एवम् टानका महासचिव कर्णबहादुर लामाले तिमालको पर्यटकीय पूर्वाधार विकाससँगै प्रचारप्रसार गरी पर्यटक आकर्षण गर्न योजनावद्ध ढङ्गले लागिपरेको बताए । टानले तिमाल क्षेत्रलाई टान पर्यटन स्मृति पार्क बनाउने प्रस्ताव गरेको छ । विगतका वर्षदेखिनै यो क्षेत्रको पर्यटन विकास गर्ने भनेर वार्षिक रुपमा रु पाँच लाख बजेट विनियोजन हुने गरेको थियो ।

“तिमाल डाँडालाई पर्यटन स्मृति पार्कसँगै, स्थानीय संस्कृति झल्कने सङ्ग्रहालय, वनभोजस्थल आदि बनाउने योजना छ, यो पाँचवर्ष अघिकै योजना हो, समग्र विकास गर्न रु पाँच करोड बजेट पु¥याउने लक्ष्य छ,”–महासचिव लामाले भने । पर्यटकीय विकासका लागि टानले यो वर्ष वृहत गुरुयोजना बनाएर काम अघि बढाउन लागेको छ । त्यसका लागि सुरुमा रु ५० लाखको अनुमान गरिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष घिमिरेले यस्ता संभावना बोकेका नयाँ पर्यटकीय गन्तव्यको विकास प्रबद्र्धन गर्न बोर्डले निजी क्षेत्रसँग साझेदारीका साथ काम गर्ने बताए ।

पृथ्वीनारायण शाह र तामाङ राजा रेञ्जेन दोर्जेबीचको सम्बन्ध र कालान्तरमा रेञ्जेनको हत्या प्रकरणले तिमाल क्षेत्रको ऐतिहासिक पक्षलाई प्रकाश पारेको छ । पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको तिमाल क्षेत्रको विकासका लागि स्थानीय समुदाय पनि उत्साहित ढङ्गले लागिपरेको स्थानीय लाप्साङ लामा दोङले बताए । तिमालको पर्यटन आकर्षणको रुपमा ग्रेट वुद्धिष्ट मास्टर ट्रेल, महाभारत लालीगुराँस ट्रेल, टान पर्यटन स्मृति पार्क, बोधिचित्त प्लान्टेसन एरिया, प्रशस्त मात्रमा क्यानोनिङ क्षेत्र, सुनकोसी नदीमा र्याफटिङ, गुफा छन् । धार्मिक महत्वको रुपमा नारायणस्थान मन्दिर गुरु रिम्पोछे गुफा, कृषि पर्यटन, तामाङ् परम्परा र संस्कृतिको महत्वपूर्ण क्षेत्र, स्काइ गेजिङ आदिले पर्यटक लोभ्याउँछ ।

पर्यटक पुग्न सडक सञ्चाल विस्तार पनि नभएको हैन, तर माथि बस्ने पूर्वाधार अभाव छ । छोटो पदयात्राका लागि उपयुक्त गन्तव्य पनि हो तिमाल । जैविक वनस्पति, (बोधिचित्त) कृषि पर्यटन आदिको सम्भावना बोकेको यो क्षेत्रमा पर्यटक बस्ने घर तथा शौचालयको व्यवस्था छैन ।
भएका सडक पनि प्रभावकारी सञ्चालन हुँदैनन् । तिमालमा जुनसुकै मौसममा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । तर लामो समय बिताउने गरी जार्दैनन् किनकी त्यहाँ पर्यटकीय पूर्वाधारको कमी छ ।

तिमाल बुद्ध धर्मको ऐतिहासिक योगस्थलका रुपमा पनि चर्चित छ । गोधुली हिमाल, आठौँ सताब्दीतिर बौद्ध गुरु रिम्पोछे ध्यान गरेको गुफा तथा लामो दुरीसम्म देखिने मनोरम दृश्यले आकर्षण बढाएको छ । अर्कोतर्फ धार्मिक महत्वको बोधिचित्तको उद्गमस्थलको रुपमा रहेको तिमाले विश्वको ध्यान खिचेको छ । पयदयात्रा र पर्वतारोहण क्षेत्रमा आबद्ध यहाँका बासिन्दा पछिल्लो समय बोधिचित्तको व्यावसायिक खेतीमा लागेका छन् । जसले गर्दा पर्यटनको माध्यमकाट उनीहरुको आम्दानीमा नयाँ आयाम थपेको छ । टानले उक्त क्षेत्रको हालै ‘मिडिया फेम ट्रिप’ गरेको थियो, जहाँ राष्ट्रियस्तरका १६ मिडिया तथा टानका पदाधिकारी र सदस्यको सहभागिता थियो ।

-(सिबी अधिकारी

तपाइँको प्रतिक्रिया ।