सबैलाई यो आगोले पोल्छ !

सबैलाई यो आगोले पोल्छ !

keshav jjjjjj

कपन अनलाइन, २६ साउन, २०७३/दृष्टिकोण

  • केशव पाठक

“सबैलाई यो आगोले पोल्छ”
यो वाक्य साउन २३ राती श्यामकृष्ण संगतले उनका साथी कल्पना मल्ल ठकुरीको फेशबुक स्टाटसलाई आफ्नो फेशबुकमार्फत सेयर गरेका हुन् । उनले कल्पनाको स्टाटसलाई सेयर गरेर लेखेको यो वाक्यतिर कतिले ध्यान दिए वा कतिले दिएनन् ।

संभवतः संगत स्वयम्लाई पनि वाक्य कति गहन भयो भनेर आंकलन भएन होला । कहिलेकाहिँ सामाजिक सञ्जालमा प्रयुक्त भाषाको गाम्भीर्यता यति चोटिलो र बोझिलो हुन्छ कि त्यसले कतिलाई सयाँैपटक सोच्न बाध्य बनाउँछ । कतिपयपटक ती हरफमा प्रयुक्त शब्द मृत्यूसरह असहनीय पनि हुने गर्दछ । साथै कतिपयपटक यस्ता वाक्यहरुको चोटिलताप्रति अरुले खासै महत्व नदिए पनि जसलाई प्रहार गरिएको हो उसलाई बज्रसमान हुने गर्दछ ।

शीर्षकमा लेखिएको वाक्यांश सबैलाई ‘यो आगोले सबैलाई पोल्छ’ श्यामकृष्ण संगतका फेशबुके साथीहरुमध्ये कतिपयलाई अर्थपूर्ण भएन पनि होला तर जो जो नेका क्षेत्र नं. ४ को राजनीतिसँग साक्षात्कार छन् उनीहरुलाई भने यो वाक्य पक्कै अर्थपूर्ण भयो । यो स्टाटस आफैमा नेका काठमाडौं क्षेत्र नंं ४ को राजनीतिको खुल्ला दृष्टान्त पनि हो । जुन लुकाएर लुक्न नसक्ने अवस्थामा पुगेको छ ।

काठमाडौं क्षेत्र नं. ५ बस्ने तर बुढानिलकण्ठ नगरपालिकावासी भएका कारण क्षेत्र नं. ४ को राजनीतिलाई नजिकसँग नियाली रहेका युवा बिजेन्द्र पुडासैनीले मलाई श्यामकृष्ण संगतको स्टाटसबारे जानकारी गराउँदा बिजेन्द्र आफै पनि यो ठूलो इस्यू र विषय बन्ने स्टाटस हो भन्ने कुरामा निश्चिन्त थिए । उनले यो स्टाटसलाई गम्भीरताका साथ लिन र यो बारेमा लेख्न घच्घच्याए । यही स्टाटसको सेरोफेरोमा बिजेन्द्रले लेखेको दृष्टिकोण कपन अनलाइनमा छापिई सकेको छ ।

श्यामकृष्ण संगतले नेपाली कांग्रेसको १३ औँ महाधिवेशनपछि लेखेका कतिपय स्टाटसमा केही घोचिएका शब्दहरु हुने गरेका सबैले आभाष पाएका हुन् । अरुका स्टाटसमा कमेन्ट गर्दा पनि उनले प्रयोग गर्ने शब्दहरुमा केही राजनीतिक आग्रह लुेकेको हुन्छ । त्यसो त उनी आफै नेका काठमाडौं क्षेत्र नं. ४ का परिचित नेता पनि हुन् । नेका क्षेत्र नं. ४ का सचिव बनिसकेको संगत अहिले पनि सर्बाधिक मत ल्याएर निर्वाचित क्षेत्रीय सदस्य हुन् । उनी १३ औँ महाअधिवेशनमा हाल क्षेत्रीय सभापति रहेका राजु श्रेष्ठभन्दा निकै बढि मत ल्याएर सदस्य चुनिएका थिए । छुट्टै कुरा हो संगत सभापति बन्ने होडबाजीमा अन्तिम समयमा फालिए ।

क्षेत्र नं. ४ का यी हस्तीले आफ्नो फेशबुकमा यसरी स्टाटस लेख्दा काठमाडौं क्षेत्र नं. ४ को नेका राजनीति कुन रुपमा गुज्रिरहेको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेसको राजनीतिमा जित्नेको दम्भ र हार्नेको नैराश्यता आम विषय भए पनि काठमाडौं क्षेत्र नं. ४ को राजनीतिमा पछिल्ला दिन निषेधात्मक राजनीति चलिरहेको बताइन्छ । चियापानलगायतका बिबिध खुद्रा विषयका नाममा भैरहेका थुप्रै कार्यक्रमहरुमा देखिने एकैखाले अनुहार र अनुपस्थित हुने अरु अनुहारले यहाँको राजनीतिको स्वरुप प्रस्ट पार्दछ । सामाजिक संजालमा होस् वा सार्वजनिक स्थलमा होस् क्षेत्रीय नेताहरु एकअर्काको कुरा काट्न मै समय बिताउँछन् यहाँ ।

केही दिन अघि डा गोबिन्द केसीको विषयलाई सम्बोधन गर्दै अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विषय संसदमा छलफलको विषय बनाउन काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापालगायत ३ जनाले संसदमा फाइल गरेपछि कसैले ट्विटरमा गगन थापालाई अब अख्तियारले समात्ने, लोकमानले त्रिचन्द्र कलेजको पूराना सबै फाइल मगायो भनेर लेखे । त्यो ट्विट लेखिएको करिब १ घण्टामा क्षेत्र नं. ४ का नेका महासमिति सदस्य कर्माछिरिङ शेर्पाले आफ्नो फेशबुकबाट त्यो ट्विट शेयर गरे ।

केन्द्रिय सदस्यसमेत रहेका गगन थापाको बारेमा कोही सामान्य व्यक्तिले लेखेको ट्विटलाई शेर्पाले यसरी फेशबुकबाट शेयर गर्नुसँगै यस क्षेत्रको नेका राजनीतिको स्वरुप डरलाग्दो बन्दै गरेको सजिलै अनुभूत गर्न सकिन्छ । नेका क्षेत्र नं. ४ मा अब सम्मानको राजनीति नरहेको धेरैले महशुससमेत गर्न सक्छन् ।

श्यामकृष्ण संगतले सबैलाई यो आगोले पोल्छ भनेर सेयर गरेको स्टाटसकी लेखिका चाहिँ कल्पना मल्ल ठकुरी हुन् । उनी नेका क्षेत्र नं. ४ की कोषाध्यक्ष हुन् । उनले सो स्टाटस लेख्न बाध्य भएको भन्दै क्षेत्रमा निषेधात्मक राजनीतिको उजागर गरेकी थिइन् । मल्लले घरभित्रको कुरा बाहिर ल्याउन मन नभएको भन्दै कोषाध्यक्षलाई क्षेत्रको कुनै कुरा थाहा नदिइएको र मनोनित क्षेत्रीय सदस्यलाई मञ्चमा स्थान दिँदा पनि कोषाध्यक्षलाई मञ्चमा सम्म नबोलाइएको लेखेकी थिइन् । मल्लले उनले आफू ०४८ सालदेखि पार्टीको वफादार सिपाही रहेको बताउँदै क्षेत्रको यावत समस्यालाई केन्द्रिय सदस्य शेरबहादुर देउवालाई सुनाउनेसमेत जनाएकी थिइन् त्यो स्टाटसमा ।

उनको यो स्टाटसमा केही यही क्षेत्रका चिनिएका नेका अगुवाहरुसहित थुप्रैअरुले कमेन्ट पनि गरेका छन् । जिल्ला सदस्य सानु श्रेष्ठदेखि मनोनित क्षेत्रीय सदस्य प्रकाश गुरुङसम्मले पनि कमेन्ट गरेका छन् । सानु श्रेष्ठले जसले खाल्डो खन्छ त्यो त्यही खाल्डोमा आफै पर्छ भनेर कमेन्ट गरेका छन् भने प्रकाश गुरुङले फेशबुकमा स्टाटस हालेर हैन मैदानमा उत्रिनु पर्छ भनेर कल्पनालाई सटाएर हानेका छन् । सो स्टाटसमा कमेन्ट गर्दै क्षेत्र नं. ५ का नेका क्षेत्रीय सदस्य बसन्त गौतमले हालै तरुण दल नगर समिति गठनमा देखिएको निषेधात्मक राजनीतिलाई प्रहार गरेका छन् महाधिवेशन सदस्य अनार बस्नेतले पनि विद्यमान राजनीतिप्रति बेखुशी प्रकट गरेकी छिन् । बुनपा वडा सभापति शंकर आचार्यले क्षेत्रको यो राजनीति सिद्धिने मति भनेर लेखेका छन् । त्यसैगरी कामनपा वडा ३ का नेका सभापति विषम केसीले राजनीतिलाई राज गर्ने नीति मात्र सोचे केहीले भनेर वर्तमान क्षेत्रीय समितिप्रति रोष प्रकट गरेका छन् ।

सामाजिक संजालमा नेका क्षेत्र नं. ४ का नेताहरुले पछिल्लो ६ महिनामा लगातारजस्तै यस्ता पार्टीभित्रका तिता कुराहरु पोखिरहेका छन् । यद्यपि श्यामकृष्ण संगतले लेखेको यो आगोले सबैलाई पोल्छ भन्ने वाक्यले यहाँ विद्यमान निषेधात्मक राजनीतिको असन्तुष्टि हो । १३ औँ महाधिवेशन पछिको ६ महिनामा काठमाडौं क्षेत्र नं ४ मा देखिएको पार्टी राजनीतिमा देखिएको आग्रह र पूर्वाग्रहले पक्कै विस्तारै आगोको रुप लिनेछ र सबैलाई पोल्नेछ । संगतले अनायसै लेख्न पुगेको यो वाक्य नेका क्षेत्र नं. ४ राजनीतिको बटमलाइन बन्न सक्ने आंकलन गर्न सकिन्छ । त्यसो त राजनीतिमा मित्र र शत्रु हुँदैनन् पनि भनिन्छ । साथै राजनीतिमा जे पनि सम्भव छ पनि भनिन्छ ।

काठमाडौँ क्षेत्र नं. ४ देशले नै केही गर्न सक्ने व्यक्तिको रुपमा सोचिएका नेका केन्द्रिय सदस्य गगन थापाको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा हाल प्रभावशाली युवा नेता राजु श्रेष्ठ क्षेत्रीय सभापति छन् । संगठनमा देखिएको असन्तुष्टिले विकास बजेट समेत प्रभावित छ । सांसद विकासको कोषको पैसा नयाँ आर्थिक वर्षबाट कसरी संचालन गरिने बारेको विषय पनि पेचिलो बन्दै गएको छ ।

तपाइँको प्रतिक्रिया ।