कांग्रेसमा सयौँजना मन्त्री बन्न ताँती, गगन थापालाई मन्त्री बन्न चासो कम !!

कांग्रेसमा सयौँजना मन्त्री बन्न ताँती, गगन थापालाई मन्त्री बन्न चासो कम !!
कपन अनलाइन, १६ साउन, २०७३/समाचार विश्लेषण
केपि ओलि सरकारले राजिनामा दिएको १ हप्ता बित्न लाग्दा नयाँ  सरकार गठनको प्रक्रिया सुरु भएको छ । नयाँ सरकारको कुरा सँगै कांग्रेस र माओवादी केन्द्रमा मन्त्रि बन्न जम्जमाउनेहरूको लाम लागेको छ । नेपाली कांग्रेसभित्र मन्त्री बन्नका लागि साना–ठूला नेताहरूको दौडधुप व्यापक भएको छ । कांग्रेसका दुई सय सातमध्ये कम्तीमा दुई सयजना सांसदहरू मन्त्री बन्न इच्छुक देखिएका बताइन्छ  । अधिकांश सांसद मन्त्री बन्न इच्छुक भएपछि सभापति देउवा तथा मन्त्रि छान्ने संयन्त्रलाई निकै गारो परेको छ । मन्त्री बन्न अनिच्छुक सांसदहरूमा पूर्णबहादुर खड्का, डा. आरजु राणा, प्रदिप गिरी, अमरेशकुमार सिंहलगायत केही मात्र सांसदहरू रहेको बताइन्छ।
13838363_818074128294773_290764318_o
नेकाभित्र सबैभन्दा संभावना भएका नेताको छवि बनाएका सांसद गगन थापाले पनि मन्त्री खान चासो नदेखाएको बताइन्छ । कृष्ण सिटौला समूहबाट गगन थापा मन्त्री बन्ने भन्ने हल्ला चलेको विषयमा थापाले  चासो नदिएको बताइन्छ ।  काठमाडौँ उपत्यकाबाट मन्त्रि हुने संभावित व्यक्तिमा नविन्द्र राज जोशी मात्र रहेको बताइएको छ । यसअघि काठमाडौँ क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधान मन्त्री हुने बताइए पनि प्रकाशमान सिंह बेखुशी हुने शंकामा प्रधानलाई तत्काल मन्त्री नदिइने संभावना बढेको बताइएको छ । 
नेपाली कांग्रेसमा सम्भावित मन्त्रीका रूपमा केहीको मात्र नाम अगाडि आएको छ । पार्टीको पदाधिकारीसमेत बन्न पाइने सुनिश्चितता भएमा गृह मन्त्रालय लिएर उपप्रधानमन्त्री भई कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व लिन विमलेन्द्र निधि तयार भएको बताइन्छ । निधी दुईमध्ये एक पदमा जान नचाहेको बताइन्छ । उनी पार्टी पदाधिकारी बन्न अड्चन पैदा हुने स्थितिमा निधि सरकारमा जाने मनस्थितिमा नदेखिएको कांग्रेस श्रोतको दावी छ ।
यही पदका लागि जिम्मेवारी लिएर सरकारमा जान अर्का नेता  अर्जुननरसिंह केसीले विशेष रुचि देखाएका छन् । महामन्त्रीमा पराजित भएका केसीले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अड्डी लिइरहेको बताइन्छ  । त्यसैगरी पूराना नेता गोपालमान श्रेष्ठले पनि आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने इच्छा जाहेर गरेका छन् ।  ज्ञानेन्द्रबहादुर कार्कीले पनि पार्टीको पदाधिकारी बन्न नपाउने भए मन्त्रिमण्डलमा जाने सोच बनाएका बताइन्छ भने  डा. शेखर कोइरालाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने सम्भावना लगभग पक्कापक्कि बताइएको छ  ।
नेता तथा सांसदहरू रमेश लेखक, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, शङ्कर भण्डारी, चन्द्र महर्जन, एनपी साउद, पार्वती डीसी चौधरी, केशवकुमार बुढाथोकी, पद्मनारायण चौधरी, इन्द्र बानियाँ, अजय चौरसिया, धनराज गुरुङ आदिको नाम सम्भावित मन्त्रीको रूपमा  चर्चामा रहेको छ । यसैक्रममा स्कूल व्यवसायी उमेश श्रेष्ठको नामसमेत सम्भावित मन्त्रीको रूपमा लिन थालिएको छ । पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्कामाथि मन्त्रीको जिम्मेवारी लिन दबाब परिरहेको बुझिन्छ । पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारी लिन इच्छुक खड्काले मन्त्री पद ग्रहण नगर्ने सार्वजनिक घोषणा गरेका छन् । तर, उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएमा खड्काले स्वीकार गर्न सक्ने विश्वास पार्टीका नेताहरूले गरेका छन् ।
पूर्णबहादुर  खड्कालाई सफल गृहमन्त्रीका रूपमा पार्टीभित्र र गृह मन्त्रालयभित्र पनि लिने गरिन्छ । सभापति शेरबहादुर देउवा पार्टीको पदाधिकारी र मन्त्रीको जिम्मेवारी एउटै व्यक्तिलाई दिने पक्षमा रहेका छन् ।देउवा पार्टी पदाधिकारी बनाउनुपर्ने हुन्छ उसलाई मन्त्री नबनाउने सोचमा छन् उनको यो सोच साकार होला नहोला अबको १ हप्तामा थाहा हुनेछ । 
तपाइँको प्रतिक्रिया ।