नेविसंघ नेताहरूले शुरू गरे आफ्नै पार्टी कार्यालयमा रिले अनसन
कपन अनलाइन, १४ साउन, २०७३
नेपाल विद्यार्थी संघको हुन गइरहेको १३ औं राष्ट्रिय महाधिवेशन विधानसम्मत तरिकाले हुनुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघका नेताहरू पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका छन्।
पूर्व कोषाध्यक्ष पदमराज पन्तको नेतृत्वमा केन्द्रीय सदस्य विष्णुदत्त जोशी, पदमबहादुर अधिकारी, सागर पाण्डे र जयसिंह धामीले बिहीबारबाट अनसन थालेका हुन्। हालको विधानअनुसार २३३८ प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। त्यसविपरीत ३३ सयभन्दा बढी प्रतिनिधि ल्याइसकेकाले त्यो विधानअनुसार नभएको उनीहरूले बताएका छन्।
अझै ११ जिल्लाको अधिवेशन हुन बाँकी रहेको, त्रिभुवन विश्वविद्यालय, मीनभवन र विश्वभाषा क्याम्पसको अधिवेशन हुन बाँकी रहेको अवस्थामा महाधिवेशन हुन लागिरहेको उनीहरूले आरोप लगाएका छन्। ‘विधानविपरीत प्रतिनिधि छनोट भइरहेको छ, हामीले विधानसम्मत हुनुपर्छ भनेर दबाब दिन अनसन थालेका हौं,’ पूर्व कोषाध्यक्ष पदमराज पन्तले भने। नेविसंघको महाधिवेशन यही साउन २३, २४ र २५ गते हुन गइरहेको छ।