‘खाँडो’ जाग्ला त ‘माकाफुइ’ सरकार ?

‘खाँडो’ जाग्ला त ‘माकाफुइ’ सरकार ?

13839844_816827781752741_1723775336_o
–रामकुमार एलन

(सुरुमै पद टिप्पणीः काठमाडौँ र नेवार समुदायमा बोलिने शब्द ‘माकाफुइ’को अर्थ ‘बाँदर प्रवृत्ति’ हुन्छ तर यहाँ प्रयुक्त ‘माकाफुइ’ अब बन्ने सरकारको संयुक्त नाम हुनेछ, जहाँ माओवादी, कांग्रेस, फुटिरहेको फोरम र इत्यादि टुक्रेटाक्रे पार्टीहरुको अगाडिका अक्षर सर्लक्क ‘सापटी’ लिइएको छ ।)

महादेवको लट्टामा पनि नन्दीभृंगी जन्माउने क्षमता भएको धर्म र त्यही धर्मको अफिममा लठ्ठिएर उन्नत र उत्तरआधुनिक हुन खोज्दै पश्चिमा संस्कृतिको टर्कीवाला ‘मुस्लिम इसाइ ठिमाहा’ संस्कृतिमा हुर्किरहेका भ्यालेन्टाइन मनाउने हामी कट्टर हिन्दूहरु सुरुदेखि नै पूर्वाग्रही घडामा चोबलिएर आएका छौँ । त्यसैले समुन्द्र मन्थन गरेर अमृत उत्पादन कार्यमा राक्षसलाई पनि देवतासरह श्रमशिविरमा आउन उर्दी लगाउँछौँ । जब समुन्द्र मन्थन भएर अमृत उत्पादन हुन्छ, त्यसको भोगाधिकार ‘देवता’हरुलाई मात्र दिनुपर्छ भनेर वकालत पनि गर्छौँ । हो, उत्पत्तिदेखि नै पूर्वाग्रहको भाङ खुवाइएका हामीहरु पछि जल, जमीन, जंगलमा सबैको अधिकार भनेर निरक्षरलाई सामुदायिक वनको कोषाध्यक्ष बनाउँछौँ र कति क्युफिट काट काट्यौँ, थाहै दिँदैनौ । भन्नलाई भन्छौँः ‘हामीजति समावेशी को छ ? हामीले जति समन्याय कसले गरेको छ ?’

13835554_1074443912610762_1551542238_o (1)

हो, यही समन्याय र समावेशीको कुरा गर्दै गणतन्त्रको आगो तापेको पनि १० वर्ष पुग्दा आज नेपालीबीच त्वचाका विषय उचालेर काटमार मच्चाइएको छ अनि आफूलाई फरक धातुको देखाउने होडमा आफ्नै दाजुभाइलाई भारतीय र भारतीय गहुँगोराहरुलाई ‘फुपाजु’ देखिरहँदा हाम्रो राष्ट्रियताको सुरुवाल खुस्किइसकेको छ । शकुनि अरु कोही छ, हामी बैगुनी आफन्तलाई नै देखिरहेका छौँ । कालो छाला भएकै कारण हाम्रो कुनाकन्दरामा थन्किरहेको पुराना अखबार र खाली शिशी बटुल्नेलाई ‘भारतीय’ देख्ने र भारतभूमिमै जन्मेका नेपालीभाषीहरुलाई ‘भाइभाञ्जा’ मानेर इन्डियल आइडल बनाउने मात्र होइन, नेपाली सिमेन्टको विज्ञापनमा ‘मलाइ गर्व छ नेपाली हुनुमा’ भन्ने बोल्न लगाउने हाम्रो भाङ खाएको राष्ट्रवाद त्यही हिन्दूधर्मको देवता र राक्षसको समुन्द्र मन्थन भन्दा फरक छ भनौँ कसरी ?

यति भनेपछि लागौँ सप्तरीतिर, बिहीबार, तिलाठीस्थित दशगजामा ‘खाँडो’ खोला नै थुन्ने गरी भारतीयले बाँध बाँध्न खोज्दा यिनै ‘कालो त्वचा’ भएकाले आफूसँग भएका बाँसका भाटा लिएर भए पनि ‘नेपाली धातु’ देखाए । भारत सरकार, जो नेपालका राजा जनकले ‘हलो जोत्दा फेला पारेका छोरी जानकी’ समेत आफ्नो बुहारी बनाएर सेवा लिन खोज्छ, उसले बाँध नबाँध्ने सहमति गरे पनि नेपालमा उर्लिरहेको कहरले नेपाली नै डुबिमरुन भन्ने हिताय बाँध बाँध्न आएपछि नेपाली रगतले राष्ट्रियताको परिभाषा दिन काठमाडौँका पहाडिया गहुँगोराको मुख ताकेन । बरु नेपालीले डटेर प्रतिवाद गरे भन्न गृह मन्त्रालयका बाहुने प्रवक्ताको रुद्रघण्टी लुगलुग कामिरहेको थियो बिहीबार साँझसम्म ।

13662390_1074443915944095_846500668_o (1)

हो, झडपमा घाइतेहरुको यी तस्बिरहरु फेसबुक र ट्विटरमा रामनारायण विश्वास र रामशुभक महतोले शेयर गरेका हुन् । नेपालीले आफ्नो खप्पर फुटाए तर राष्ट्रियतामाथिको प्रहार सहेनन् । पाँडे, थापा, कुँवरहरुले मात्र लडेका होइनन् शत्रुसँग, पर्दा अहिले पनि भोकभोकै विना हतियार देशका लागि लड्छन् सबै भन्ने सन्देश दिए खाँडो खोला थुन्न खोज्ने भारतीयविरुद्ध । के यो भन्दा ठूलो परीक्षा र परिचय दिइरहनु पर्छ तराईका बासिन्दा नेपालभूमिप्रति अगाध श्रद्धा गर्छन् भनेर ?

सात वर्षअघि नै भारतले दशगजामा पक्की बाँध बनाएको हो । गत शनिबार खाँडोमा आएको भिषण बाढीले भत्काइदियो छिमेकीको स्वार्थको बाँध । नेपाल र भारतका सुरक्षा अधिकारीहरुले पनि यसलाई चासो लिएनन्, आज स्वार्थी छिमेकीविरुद्ध जुटे तिलाठीका जनता । दौडेर राजा हुने चलन भएको देशमा आज रगत बगाउने तिनै जनताले उपचार पनि पाए कि पाएनन् ? किनभने तिनका नेताहरुको नागरिकतामा हामी ‘नेपालीपन’ नदेखेर जनता पनि भारतका भनेर प्याच्च बोलिरहेका थियौँ । उसो त हामीले भन्दा भारतले हाम्रा ‘एक करोड’ जनता भनेर बेलाबखत झिकिकटको रहर गरेकाले पनि हामीले खाँडोको सीमामा सात वर्षदेखि पीडामा बाँचिरहेका नेपालीको भावना बुझ्न जरुरी नै ठानेनौँ । राजेन्द्र महतोको नागरिकता जोडेर अरुलाई पनि उस्तै ठान्यौँ । त्यसको गतिलो जवाफ पहाडिया शासकलाई दिए तिलाठीका जनताले ।

13884439_1074651862589967_978456778_n

भारतीय अखबारहरुले नेपालको सरकार ढल्नुमा खुशी प्रकट गरेका छन् । अझ अब आफूले भनेकाहरुको सरकार आउँदै छ भनेर बुर्कुसी मारेका छन् । यस्तो बेला तिलाठीका जनताले नेपाली शासककै लाठी खाएछन् भने पनि आठौँ आश्चर्य नहुने भएको छ । राष्ट्रियताका कुरा गर्दा मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री हुँदा पनि छिमेकीले नाकाबन्दीको हथौडाले हान्यो । अपुष्ट थुप्रै घटनाक्रमहरु छन्, जहाँ छिमेकले यसरी नै पर्दाभित्रबाट कैँची मारेकै छ । मदन भण्डारी र राजा वीरेन्द्रको वंशनाश, भूकम्पको पीडामा नाकाबन्दीको वज्रप्रहार अनि सरकार ढाल्ने खेल । कहीँ कतै सिलसिलावद्ध ढंगले नेपालीमाथि प्रहार गर्न अहिले माकाफुइहरुको गठजोड पनि उतैबाट भएको भनिएको छ । तिलाठीका जनताले जस्तै मुकाबिला गर्न सक्ने नेताहरु कम्तीमा अरु एकाध जन्मेका भए आज एमाले नेतृत्वको राष्ट्रवादी सरकार ढल्ने थिएन । जब तिलाठीका जनता त भारतको दादागिरीविरुद्ध उत्रे भने हाम्रा नेताहरु किन आज माकाफुइ प्रवृत्तिमा दौडिरहेका छन् ? अब सीमामा हुने यस्तै घटनाक्रममा माकाफुइ सरकारको प्रतिक्रिया कस्तो होला ? यिनलाई सत्ताको ‘खाँडो’ जाग्ला या, तिलाठीका जनता जति पनि प्रतिवादमा उत्रन नसकेर फेरि पनि ‘आइएमविथकेपीओली’ को झाँकीले तर्साइरहला ? प्रतीक्षा यसैको छ । फेरि पनि सलाम खाँडो खोलामा भारतीय लखेट्ने तिलाठीका जनतालाई । बन्न लागेको सरकारलाई पनि यति बल प्रदान गरिदेऊ दोलखा भीमसेन ।

(एलन, एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार/लेखक हुन्)

तपाइँको प्रतिक्रिया ।