नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवस देशभर मनाइँदै

नेकपाका संस्थापक पुष्पलाल स्मृति दिवस देशभर मनाइँदै

कपन अनलाइन /२०७३ श्रावण ७ शुक्रबार ।

 पुष्पलाल श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइँदैछ ।

विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए । नेकपा खोल्नुभन्दा अगाडि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।

विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल  र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी सहिद गङ्गालालका भाइ हुन् ।

उनले  स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद्मा राम्रो उपस्थिति  छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् ।  नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।

नेपाली काङ्ग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे । अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छन्  ।

पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा शुक्रबार बिहान कीर्तिपुर नगरपालिका, वडा नं ८ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा श्रद्धाञ्जलि सभाका साथै विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको प्रतिष्ठानका सचिव गङ्गालाल तुलाधरले जानकारी गराए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने श्रद्धाञ्जलिसभा कार्यक्रममा ‘पुष्पलालका छानिएका रचना भाग–१’ र ‘नेपाल कम्युनिस्ट पार्टीको दस्तावेजको सङ्ग्रह भाग–३’ विमोचन गरिने प्रतिष्ठानका उपाध्यक्ष वेदुराम भुसालले बताए । यसैगरी पार्टी निकट राष्ट्रिय जनसङ्गीत मञ्चले करिब एक घन्टा १० मिनेटको ‘पुष्पलाल’ पूर्णाङ्की नाटक पनि शुक्रबार अपराह्न प्रदर्शन गरिने भएको छ । पुष्पलालका विभिन्न समयका चित्र समेत प्रदर्शनी गरिने छ । पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घले ‘पुष्पलाल स्मृति साँझ’ आयोजना गरी विभिन्न गीत तथा साङ्गीतिक कार्यक्रम  गर्नेछ । त्यस्तै उहाँको वृत्तचित्र पनि प्रदर्शन गरिने छ ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । रासस

तपाइँको प्रतिक्रिया ।