हिजोको पानीले १ नं. वडाका केहि घर र सडक डुबे !!
हाम्रो कपनको विकास मैले गरेँ भनेर यहाँ राजनीतिक दलका नेताहरु तँछाड मछाड गरिरहेका हुन्छन् । कोही कोही नेता त म कपनको विकासका पर्याय हुँ भन्ने भ्रम पनि पाल्छन् । विशेषगरेर वडा नं. १, ३, २, र ८ मा बढेको मानववस्ती र केही पिच बाटोलाई लिएर हामीले धेरै पटक कपनलाई विकसित भनेर भन्ने गरेका छौं ।
यसरी बाटो बनाउँदा यस क्षेत्रका अस्थायी जलाधार खोलाहरु(छपने खोला, छिँडा खोला, कपने खोला र यज्ञमती खोला) लाई जसरी विकासका नाममा अन्धाधुन्ध ढलमा परिणत गराउने कार्य गरियो र त्यही ढल भएको क्षेत्रलाई बाटो बनाइयो वर्षामा यही ढलहरुले अहिले बस्ती ढुब्न थालेको छ । प्राकृतिक रुपमा बग्ने नदीहरुलाई ढलमा परिणत गरेर अब आउन सक्ने परिणाम जिम्मेवारी कस्ले लिने ? यी प्राकृतिक नदीलाई मास्ने अधिकार हामीलाई कस्ले दियो ? यो अति महत्वपूर्ण प्रश्न बनेको छ ।
हरेक वर्ष वडा नं. १ को कतिपय होचो भूभाग वर्षामा अलि ठूलो पानी आएको बेलामा डुब्ने गर्छ । यही क्रममा हिजो (०६९ भाद्र २६ गते)े साँझ आएको पानीले यहाँको केही भेक फेरि यसैगरी डुब्यो । हिजो आएको पानी अझै दुई घण्टा लम्बिएको भए त्यसबाट हुने बिनाश भयानक हुनसक्थ्यो । हरेक वर्ष कपनका होचा भूभागका वस्तीलाई यसरी डुबाउने काम विकासका नाममा हामील नै निम्त्याएका हौं ।