राप्रपा नेपाल र राप्रपा साउनको दोस्रो साताभित्र एकीकरण हुने

राप्रपा नेपाल र राप्रपा साउनको दोस्रो साताभित्र एकीकरण हुने

1468235966683_NN_Ktm_160711_IMG_2088

कपन अनलाइन, काठमाडौँ, २७ असार, २०७३

राप्रपा नेपाल र राप्रपा पार्टी बीच आगामी साउनको दोस्रो सातामा एकीकरण हुने घोषणा गरिएको छ । आज कार्यक्रममा  सो कुराको जानकारी दिइयो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरण वर्तमानको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको आकाङ्क्षा भएको बताएका छन्  । दुई पार्टी एकीकरणका सन्दर्भमा गठन गरिएको वार्ता टोलीले तयार पारेको नीति तथा आधारपत्र आज ग्रहण गर्दै थापाले भने, “पार्टी एकीकरण देशमा बलियो राष्ट्रवादी प्रजातन्त्र शक्ति बनाउने अभियानको एउटा कडी हो ।” सकारात्मक दृष्टिकोणका साथ सबै समस्यालाई हटाएर छिटो एकीकरण गर्न आफ्नातर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउँदै अध्यक्ष थापाले यो क्षणलाई आफूले ऐतिहासिक र महत्वपूर्ण उपलब्धिका रुपमा लिएको टिप्पणी गरे ।

राप्रपाका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकमा शून्यता छाएका बेला ठूलो जिम्मेवारी बहन गर्न नियतिले आफूहरुलाई एक ठाउँमा उभ्याउन पुर्याएको बताए । उनले भने, “मुलुकमा अहिले शून्यता छ, जनताले भरोसा गर्ने शक्ति कोही पाइरहेका छैन्, त्यो ठाउँ अब हामीले लिनुपर्ने अवस्था छ ।” वरिष्ठ नेता पशुपति शम्शेर राणाले परम्परागत शक्ति एकताबद्ध हुँदै मुलुकमा वैकल्पिक शक्तिका रुपमा विकास गरेर स्थानीय निर्वाचनमै परिणाम देखाउने ढङ्गबाट काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । समारोहमा दुवै पार्टीका वार्ता टोलीका संयोजकद्वय बुद्धिमान तामाङ र राजीव पराजुलीले दुवै राप्रपाबीचको एकीकरणले लाखौँलाख नेपाली जनतामा खुसीको सञ्चार फैलने विश्वास व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।