न्यूरोदेखि नारायणस्थानसम्म सौर्य सडक बत्ति
कपन अनलाइन, १६ असार, २०७३
बुढानिलकण्ठ नगरपालिकाले न्यूरो हस्पिटलदेखि बुढानिलकण्ठसम्म सौर्य सडक बत्ति राख्ने प्रकृया शुरु गरेको छ । केन्द्रिय अनुदानमा ६५ प्रतिशत र बाँकी नगरपालिकाको बजेटले पुरा गर्ने गरी शुरु भएको सौर्य बत्ति जडान कार्यक्रम विश्वराज मरासैनी कार्यकारी अधिकृत भएपछि नगरपालिकाको सबैभन्दा ठूलो योजनाको रुपमा लिइएको छ ।
यस योजना अनुरुप ३.५ किलोमिटरको दुरीमा हरेक ६० मिटरमा एउटा बत्ति राखिने छ । यो प्रकृयाका लागि बुनपाले ४ ठेकेदारलाई जिम्मा दिएको छ । जिम्मा पाएका दुईटा कम्पनीले काम शुरु गरिसकेको बुनपा कार्यकारी अधिकृत मरासैनीले बताए । यस कार्यका लागि जिविस, नगरपालिका तथा वैकल्पिक उर्जाका प्रतिनिधिको एक उच्चस्तरीय अनुगमन समिति बन्नेछ । नगरपालिकाको यो योजना पूरा भएपछि बुनपाका अन्य क्षेत्रमा सौर्य बत्ति राख्ने योजना अगाडि बढाउने तयारीमा बुनपा रहेको छ ।