एमाओवादीका शिव बजगाईंसंग राजनीतिक वार्ता

नेकपा एकिकृत माओवादीका तर्फबाट कपनमा राजनीति गर्ने व्यक्तिहरुमा एक अग्रणी नामको रुपमा शिव बजगाईं लाइ लिइन्छ । काभ्रे जिल्ला नयाँ गाउँ गाविसमा ४० वर्ष अघि जन्मिएका शिव बजगाईं ०५८ सालदेखि माओवादीमा सक्रिए छन् । राजनीतिक क्रियाशिलता तथा सामाजिक पृष्ठभूमि भएर पनि राजनीतिक दाउपेचको अभावले उनको पार्टीगत उचाई कमजोर बनेको हल्ला गरिने गरिन्छ । कपनको विकास निर्माणमा एनेकपा माओवादीका तर्फबाट लामो नेतृत्व गरेका शिव बजगाईंसँग कपन अनलाइनले गरेको राजनीति तथा विकास वार्ताः

प्रश्नः राजनीतिमा कहिलेदेखि प्रवेश गर्नु भयो ?

शिव बजागाईंः म २०४२ सालदेखि तत्कालिन माले पार्टीबाट राजनीतिको शुरुवात गरेको हुँ । ०४२ सालतिरबाट स्कूलमा राजनीतिक गतिविधिमा संलग्न थिएँ । ०४६ मा पार्टी एकिकरणपश्चात एमाले भएँ ।

प्रश्नः एमाले कहिले र किन छोड्नु भयो ?
शिव बजगाईंः ०५४ सालमा पार्टी फुुटेपछि माले भएँ । ०५७ मा पार्टी एकिकरण भएपछि एमालेका नीति, सिद्धान्त एवम् एजेण्डाहरुमा धेरै विमती भएपछि माले वा एमाले दुवै रहिन । भनौं राजनीतिप्रति वितृष्णा जाग्यो । एक डेढ वर्ष एत्तिकै बसेँ ।

प्रश्नः कहिलेबाट माओवादी हुनु भयो ?

शिव बजगाईंः ०५८ भदौ १७ गते नेकपा माओवादीमा प्रवेश गरेँ । तत्कालिन भक्तपुर जिल्लाबाट माओवादीमा प्रवेश गरेँ । म माओवादीमा क्रियाशील हुनुमा प्रकाश थापाको पनि देन छ ।
प्रश्नः ०५८ सालदेखि आजसम्म आइपुग्दा पार्टी जीवनमा कहाँ पुग्नु भयो ?
शिव बजगाईंः ०६३ भन्दा अघि म आफ्नो व्यवसायलाई साथमा नै लिएर पार्टी जीवनमा क्रियाशील रहँे । मैले बन्दुक बोकिन । ०६३ सालदेखि नियमित रुपमा राजनीतिमा सक्रिय छु । पार्टीका तर्फबाट क्षेत्र नं. ४ विकास निर्माण संयोजक भएँ अझै पनि म संयोजक नै छु । ५ वर्ष कपन गाउँ इन्चार्ज भएँ । यतिखेर पार्टीको महाधिवेसन आव्हान भएको अवस्थामा कसैको कुनै पद नभए पनि म निवर्तमान इलाका सदस्य हुँ ।
प्रश्नः ०६२–६३ को जनआन्दोलनमा कहाँ के गर्दै हुनुहुन्थ्यो ?
शिव बजगाईंः म यो जनआन्दोलनमा पूर्ण सक्रिय रहँे । भक्तपुर जिल्लाअन्तर्गत नै हामी क्रियाशील थियौँ । कपनबाट हामीले उत्साहजनक सहभागिता जनाएका थियौँ ।
प्रश्नः यहाँको राजनीतिक उचाई जुन हिसाबले उठ्नु पर्ने हो त्यो हिसाबले उठ्न सकेन भनिन्छ नि ?
शिव बजगाईंः मलाई व्यक्तिगत रुपमा त्यस्तो कुनै समस्या छैन यो विषयमा । तर मेरा साथीभाइहरुले मेरो उचाई उठ्न नसकेको वा नदिएकोमा भन्ने विषयमा देखाएको चासोप्रति म अनुचित पनि मान्दिन ।
प्रश्नः आफ्नै पार्टीका साथीहरुबीच पनि यहाँको सम्बन्ध राम्रो छैन भनिन्छ नि ?
शिव बजागाईं ः सम्बन्धको विषयमा त्यति नराम्रो पनि छैन राम्रो पनि छैन जस्तो अवस्थामा छ । तर म यो विषयमा त्यति धेरै चिन्तित छैन । मलाई अरु पार्टीसँग निकट भन्ने आरोप पनि लगाउँछन् । अब महाधिवेशन आउँदैछ, यहि महाधिवेशनले को कता हो को कहाँ हो टुंगो लगाउँछ । अहिलेसम्म टीका प्रथाबाट हाम्रा नेतृत्व चयन हुन्थे, जसले दाउपेच जान्यो वा जसले खुरापाती गर्न सक्यो उसले नेत्तृत्व पाउने चलन थियो । अबको महाधिवेशनले सबै समस्याको हल गर्नेछ ।

प्रश्नः यहाँँको राजनीतिक क्रियाशीलता पनि अलि कमजोर छ जस्तो लाग्दैन ?
शिव बजगाईं ः मेरा पनि कमजोरी त होलान् । मैले पार्टीलाई चाहे जति समय दिन नसकेको हुँला । साथै पार्टीले पनि मेरो क्षमता अनुसार मुल्यांकन गर्न नसकेकोले पनि होला केही क्रियाशीलतामा कमि चाहिँ अवश्य भएको हो ।

प्रश्नः यहाँलाई बाबुराम भट्टाई समुहको भनेर हल्ला गरिन्छ । पार्टीमा कुन समूहमा हुनुहुन्छ ?
शिव बजगाईंः मान्छेको मनोगत कुरो हो । पुष्टि गर्न नसक्ने हल्ला हो यो ।

प्रश्नः आफ्नो राजनीतिक जीवनबाट कपनको विकासका लागि यहाँले के योगदान गर्नु भयो होला ?
शिव बजगाईं ः कपन गाविसमा ५ वर्ष काम गर्न पाएँ पार्टीको नेतृत्व लिएर । यी बीचमा भएका राम्रा नराम्रा सबै कामको जस अपजसको भागिदार हुँ । यही काम गरेँ भन्दा पनि सबै खाले काममा सहभागि भएँ भन्दा ठीक होला । तर मेरा कामप्रति कसैले नराम्रो भन्ने अवसर सकभर दिइन मैले ।

प्रश्नः कपन गाविसको वर्तमान अवस्थालाई प्रगति भन्न मिल्छ कि मिल्दैन ?
शिव बजगाईं ः काठमाडौं का ५७ गाविसको तुलना गर्ने हो भने कपनलाई प्रगति भएकै भन्दा हुन्छ । अब प्रगति के लाई भन्ने कुरा पनि आउँछ । भौतिक पूर्वाधारका कुरा गर्दा बाटाघाटालाई बढि जोड दिइएकोले कपन शहर भएको छ ।

प्रश्नः कपनको अहिलेको अवस्था हेरेर कपन यस्तो बनाउनु पथ्र्यो, कहिँ कतै गलत भएको जस्तो लाग्दैन यहाँलाई ?
शिव बजगाईं ः विकासका नाममा बस्ती बढेको र त्यो सँगै बनेका बाटाघाटालाई लिएर मात्र हामी सफल भएको भन्नु पनि आफैमा ठीक त होइन । विकासको सामान्य नियममा कपनमा काम भएको होइन । घर बनाउँने आदि विषयमा बनाइएका नियम पनि हामीले कार्यान्वयन गर्न सकेनौं । सार्वजनिक जग्गाहरुको दुरुपयोग भएको छ त्यो पनि राजनीतिक नेतृत्वको अगुवाईमा । सार्वजनिक जग्गा खानका लागि राजनीतिक दल परिवर्तन पनि धरैले गरे यहाँ । यो अवस्था खुशी नै हुनु पर्ने चाहिँ केही छैन ।

प्रश्नः कपनमा बस्नु भएको १७ वर्ष भयो, आफूलाई कपने भन्न रुचाउनु हुन्छ कि हुन्न ?
शिव बजगाई ः भन्न त म कपने नै पनि भनिरहेको हुन्छु तर मेरो आत्माले आफूलाई काभ्रेली नै भनिरहेको हुन्छु । जन्मभूमिलाई बिर्सिन नसकिने रहेछ । तर मायाचाहिँ कपनको धेरै छ ।

प्रश्नः कपन महोत्सव हुँदैछ रे, के हो यो कपन महोत्सव ?

शिव बजगाई ः मैले पनि आजभोलीमात्र सुन्दै छु । कपन भनेको नै थाहा नभएका साथीहरुले कपन महोत्सव भनेर हिँड्नु भएको रहेछ, कता कता दुःख पनि लाग्यो । कपन नै थाहा नभएकाले कसरी महोत्सव गर्ने ? कपनको पुरातत्व के हो ? कपनको मौलिकता के हो ? हिजो कपनमा के चिज थियो ? उहाँहरुलाई थाहा नै छैन । यस्ता विषयबस्तुहरुको तयारी नगरी कपन महोत्सव हुन्छ ? बेख भनिने ठाउँको नाम अब हराउँदै गएको छ, कतै मिलन चोक कति शिवपुरी चोक भएको छ । अब त्यो बेख नाम किन थियो ? त्यसको जानकारी दिन सकिदैन भने के को कपन महोत्सव ?

-केशव पाठक
फोटो – कपिल ढकाल

तपाइँको प्रतिक्रिया ।