सिन्धुपाल्चोकमा क्रसर र भूकम्पका कारण उत्पादन घट्यो

 

xkarnali_site.jpg.pagespeed.ic.XvHrFuEuNC

 

कपन अनलाइन /मेलम्ची, २३ जेठ ।

सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।

क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन् ।

पानीको अभावमा धान, गहुँलगायतका खाद्यान्न उत्पादन गर्न नसकेका कारण कृषि क्षेत्रमा आएको ह्रासले गर्दा जिल्लावासी अहिले खाद्यान्न किन्न बाध्य छन् ।

जिल्लामा कुल १२ हजार दुई सय ३५ हेक्टर क्षेत्रफल जमिन भए पनि भूकम्प, असिना पानी, हावाहुन्डरीका कारण उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । क्रसरका कारणले समेत उत्पादनमा मुख्य असर परेको सिपाघाटका स्थानीयवासी किशोर विद्याधरले बताउनुभयो ।

क्रसरले विभिन्न समयमा खोलाबाट बालुवा गिट्टीलगायतका पदार्थ निकाल्दा नदी गहिरिएर नहरमा पानीसमेत नचढ्ने भएको विद्याधर बताउनुहुन्छ । यतिमात्र होइन मूल नपलाएकाले, भूकम्पपछि मूल सरेको, सुख्खा खडेरी, भुइँचालोले जमिनमा धाँजा फाँटेको र कृषकले बीउ समयमा राख्न नसकेकाले खेती हुन नसक्दा उत्पादनमा कमी आएको हो ।

मेलम्ची नगरपालिकाका स्थानीय कृषक भीमप्रसाद दुलालका अनुसार नदी गहिरिँदै जाँदा कुलोमा पानी नचढ्ने भएकाले दिनदिनै कुलो खन्न पनि नसकिने हुँदा अहिले कुलोको बाँध पहिलाको तुलनामा पाँच सय मिटर माथि सरेको छ ।

अर्कोतर्फ समयमा वर्षा नभएकाले पानीको मुहान ठप्प भएपछि कृषकले खेती गर्न नसकेका हुन् । धान, गहुँ, मकैलगायतका उत्पादनजन्य अन्न उत्पादन गर्न नसक्नु र कृषि क्षेत्रमा आएको ह्रासले जिल्लाका कृषक मारमा परेका छन् ।

भूकम्पपछि जिल्लामा राहतको अपेक्षाले खेती गर्ने लहर हरायो । मेलम्ची नगरपालिका–१२ का टोमशंखर दुलाल भन्नुहुन्छ – “गत वर्षको वैशाख महिनामा भुइँचालोले भत्केका संरचना पन्छाउँदै बिताए ।“ अलिअलि झरी परे पनि धान रोप्नका लागि पुग्ने पानी नपरेकाले धानबाली लगाउन सकिएन ।

कृषकले अब क्रसरको लापर्बाही सहेर नबस्ने र सम्बन्धित प्रशासनले ध्यान नदिए सिधै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।