बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायातलाई पहिलो प्राथमिकता

20160411051836_bajet

कपन अनलाइन, काठमाडौँ, १२ जेठ,२०७३

आर्थिक वर्ष २०७३÷२०७४ को बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगकी सदस्य डा सुमित्रा अमात्यले बजेटको प्राथमिकताका विषयमा रासससँग कुरा गर्दै “बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ, पूर्वाधार नै विकासको आधार भएकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको हो”– भन्नुभयो ।

पूर्वाधारको निर्माण सुरक्षित र वातावरणमैत्री हुने आयोगले जनाएको छ । संरचनागत क्षमता सुधारमा बजेटले प्राथमिकता दिनेछ । काठमाडौँ उपत्यकालगायत देशभरको यातायात अस्तव्यस्त रहेकाले त्यसको सुधारका लागि यातायात व्यवस्था विभागको क्षमता अभिवृद्धि गरिने उहाँले बताउनुभयो । रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गलाई पनि बजेटबाटै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइने भएको छ । आर्थिक केन्द्र र सात प्रदेश जोड्ने सडकलाई पनि बजेटले प्राथमिकता दिने आयोगको भनाइ छ । काठमाडौँ–निजगढ दु्रतमार्गलाई बजेटले महत्वका साथ अगाडि बढाउँदैछ ।

देशभरका तुइन विस्थापनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई मागेजति बजेट दिन लागिएको उहाँले बताउनुभयो । गाउँ जोड्ने सडकलाई पनि बजेटले महत्व दिएको छ । बजेटमार्फत तराई क्षेत्र सीमा विकास कार्यक्रम पनि अगाडि सारिनेछ । रासस

तपाइँको प्रतिक्रिया ।