उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र रामप्रसाद पन्त पुरस्कृत

उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र रामप्रसाद पन्त पुरस्कृत

sarubhakta

कपन अनलाइन, काठमाडौँ, १२ जेठ,२०७३

उत्तम शान्ति पुरस्कारबाट साहित्यकार सरुभक्त र रामप्रसाद पन्तलाई पुरस्कृत गरिएको छ । उत्तम कुँवर स्मारक गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा २०७१ साल र २०७२ सालको उत्तम शान्ति पुरस्कारबाट उहाँहरुलाई जनही रु ३५ हजार एक सहित सम्मान गरेको हो । गैरआख्यान कृति ‘बाङ्गाटिङ्गा धर्साहरु’ का लागि सरुभक्तलाई र ‘अविरल यात्रा’ का लागि पन्तलाई पुरस्कृत गरिएको थियो ।

विसं १९९७ मा जन्मनुभएका साहित्यकार कुँवरले रुपरेखा साहित्यिक पत्रिकामा संस्थापक सम्पादकका रुपमा कार्य गर्नुभएको थियो । उहाँलाई २०२३ सालको मदन पुरस्कारबाट समेत सम्मान गरिएको थियो । विसं २०४० मा ४३ वर्षको उमेरमा नै उहाँको निधन भएपछि केही समय उहाँका धर्मपत्नी शान्ति कुँवरले उक्त साहित्यिक पत्रिकालाई निरन्तरता दिनुभएको थियो । उहाँहरुको नाममा स्थापित उक्त पुरस्कार गत वर्ष भूकम्पका कारण वितरण गर्न नसकिएकाले यस वर्ष दुई साहित्यकारलाई एकैसाथ प्रदान गरिएको गुठीका अध्यक्ष डा पार्थिवेश्वर तिमल्सिनाले जानकारी दिनुभयो ।

पुरस्कृत व्यक्तित्व सरुभक्तका बारेमा जानकारी दिँदै प्राध्यापक ठाकुर पराजुलीले कथा, नाटक, कविताजस्ता क्षेत्रमा उहाँको उल्लेख्य भूमिका रहेको र साहित्य क्षेत्रमा ती कृति कोसेढुङ्गा सावित भएको बताउनुभयो । प्राध्यापक गोपिकृष्ण शर्माले अर्का पुरस्कृत साहित्यकार पन्तलाई बहुप्रतिभामुखी व्यक्तित्वका व्याख्या गर्दै हालसम्म प्रकाशित २४ कृतिमध्ये १० कृति नियात्रा संस्मरण रहेको जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।