सिरियामा आइएसको आक्रमणबाट १४८ को मृत्यु
कपन अनलाइन,बेरुत, ११ जेठ, २०७३
सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाकोे ज्यान गएको समाचार छ । आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो ।
सो घटनामा सयौँको सङ्ख्यामा घाइते भएका छन् । उक्त समाचार सिरियाली राजधानी दमासकसबाट विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले दिएका छन् । सिरियाका उत्तरपश्चिमी क्षेत्रका विभिन्न स्थानमा यो आक्रमणको तारो बनाइएको छ । त्यस क्रममा उनीहरुले बसपार्क, अस्पताल, विभिन्न स्थानीय नागरिकका सेवा केन्द्रहरुका साथै विभिन्न सरकारी अड्डालाई तारो बनाएका थिए ।
सिरियाको उत्तरपश्चिमी नगर जाबेहमा यस्तो हमला भएको थियो । यो हमला मुख्य हमला थियो । जसका कारण सो क्षेत्रमा ठूलो क्षति पनि पुगेको छ । उक्त सहर सिरियामा जारी रहेको पाँच वर्षे युद्धका क्रममा पनि खासै प्रभावित थिएन । यस नगरलाई सरकारले आफ्नो सुरक्षित स्थल वा गढका रुपमा लिइआएको थियो ।
सोमबार विस्फोटमा परी जावलेह सहरमा मात्र ७५ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस सहरमा थप मानिस मारिएका छन् । सिरियाली मानवअधिकारवादी संस्थाले मङ्गलबार बिहान प्राप्त एक समाचारमा सो नगरमा मारिएका नागरिकको सङ्ख्या १४८ पुगेको पुष्टि भएको जनाएको छ ।
प्राप्त समाचारअनुसार उक्त स्थानमा सोमबार बिहानै झन्डै सात आत्मघाती विस्फोट गराइएको थियो । ती विस्फोटको जिम्मेवारी उक्त आतङ्कवादी संस्थाले नै लिएको छ । सिरियाली हिंसाको अध्ययन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका यी आक्रमण पनि शक्तिशाली भएको बताउनुभएको छ ।
आईएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सीमार्फत लिएको छ । दुवै सहर सिरियाली सरकारको पकडमा रहेका इलाका भएको यसअघि जनाइएको थियो । पछिल्लो समाचारअनुसार सिरियामा जारी रहेको युद्धविरामको अवस्थामा पनि असर पर्ने हो कि भन्ने चिन्ता छाएको बताइएको छ ।
सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ । सिरियाको तटीय क्षेत्रमा आईएसको उपस्थिति नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ । तर सोमबारको सो आक्रमणहरुले सिरियामा आइएसको प्रभाव बढ्दै गएको हुनसक्ने विषयमा पनि विभिन्न समाचारहरु आएका छन् । -रासस-एएफपि