बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको मासहिस्टरियाका कारण पढाइ प्रभावित हुँदै आएको छ । छात्रामा एक महिनायता पटकपटक पेट दुख्ने, टाउको दुख्ने, चिच्याउने बेहोस हुनेजस्ता लक्षण देखापरेपछि पढाइ प्रभावित भएको प्रधानाध्यापक टीकादत्त भट्टले बताउनुभयो ।
विद्यालयमा दिनहुँ बिहान ८ः३० देखि ९ बजेसम्म निमावि र मावि तहका छात्रामा यस्तो समस्या आउने गरेको छ, प्रधानाध्यापक भट्टले भन्नुभयो–“कक्षाकोठामै बेहोस हुने अनि बोकेर कार्यालयको कोठामा लैजाने र केही घन्टापछि आफैँ ठीक हुने गरेका छन् ।” केही महिनादेखि उक्त विद्यालयमा यस्तो समस्या देखापरे पनि यो शैक्षिक सत्रको सुरुवातदेखि निरन्तर देखिन थालेपछि पढाइ प्रभावित हुने गरेको समेत उहाँले बताउनुभयो ।
निमावि र मावि तहका छात्रा विद्यालयमा पठनपाठनका क्रममा एकाएक ढल्न थालेपछि शिक्षक र अभिभावकसमेत हैरान भएको प्रधानाध्यापक भट्टले बताउनुभयो । देवताको दोष भन्दै अभिभावकको सुझावमा विद्यालयमा मन्दिर निर्माण गरी पूजापाठ गरेको भए पनि ठीक नभएको विद्यालयले जनाएको छ । रासस