डोटेलको राजनीतिले कपन क्याम्पसमा कांग्रेस कमजोर, अन्य पार्टी रक्षात्मक
कपन अनलाइन/१३, चैत्र २०७२
कपन अनलाइन समाचार विश्लेषण
त्यसो त विद्यालय तथा क्याम्पस व्यवस्थापन समिति भनेको राजनीतिक दलहरुको कार्यकर्ता भर्ति केन्द्र नै हो । राजनीतिक दलहरुले भाग दशैँमा मासु भाग लगाएको जस्तै भाग लगाएर कसलाई कति कसलाई कति भनेर व्यवस्थापन समितिमा हालीमुहाली गर्छन् । यस्ता व्यवस्थापन समितिमा बस्न अैरे गैरे खैरै सबै तहतप्काका कार्यकर्ताहरु मरिहत्ते गरेर लागेका हुन्छन् । व्यवस्थापन समिति निर्माण क्रममा झगडा भएको, हात हालाहाल भएका वा मानिस मरेको सम्म घटना समाचार बनेका छन् । पार्टीको राजनीतिक वर्चश्वको रुपमा व्यवस्थापन समितिलाई लिइने गरिन्छ । व्यवस्थापन समिति अध्यक्ष को भन्दा पनि कुन पार्टीको भन्ने प्रश्न बन्ने गर्दछ ।
यता कपनतिर पनि यस्तै राजनीतिक भागवण्डामा स्कूल तथा क्याम्पसको व्यवस्थापन समिति बन्ने गरेको छ । चिनिएका राजनीतिक दलका स्थानीय नेताहरु नै व्यवस्थापन समितिमा हालिमुहाली गर्न तत्पर रहेका एक हैन अनेक घटना वा उदाहरण कपनतिर छ्यास्छ्यास्ति भेटिन्छ । जगडोलदेखि साततलेसम्मका करिब १० वटा शैक्षिक संस्थाहरु यस्तै राजनीतिक भागवण्डामा असरल्ल छन् । राजनीतिक कार्यकर्ता भर्तिस्थलको रुपमा परिणत भएका यी संस्थाहरुले कति प्रगति गरे वा अधोगति उन्मुख भयो भन्ने कुरा विश्लेषण पछि गरिएला ।
कपनको मात्र नभई काठमाडौं क्षेत्र नं. ४ कै महत्वपूर्ण मानिने कपन बहुमुखी क्याम्पसमा बनेको व्यवस्थापन समितिको कतिपय पक्षले निर्लज्ज राजनीतिको पाटो सार्वजनिक भएको छ । एक कार्यकाल उनको कामबाट सबैले सरहाना गरेकाले कुमार ओझालाई व्यवस्थापन समितिमा दोहोर्याउँदा कपन बहुमुखी क्याम्पसको व्यवस्थापन समितिले उत्कृष्टता प्राप्त गर्छ भन्ने सबैको आंकलन गरेका थिए । तर त्यसको विपरित देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले व्यवस्थापन समितिको सदस्यको रुपमा पठाएको व्यक्तिप्रति कपनमात्र नभई यस भेकभरी आलोचना भएको छ । क्याम्पस व्यवस्थापन समितिमा नेपाली कांग्रेसबाट पठाइएका अनुहारमध्ये अधिकांशले क्याम्पस नदेखेका वा क्याम्पस व्यवस्थापन भन्ने शब्दसम्म नबुझेका भनेर कडा आलोचना भएको हो ।
अरु पार्टीले व्यवस्थापन समिति सदस्य पठाउँदा न्यूनतम योग्यतालाई ख्याल गरेको तथा क्याम्पस व्यवस्थापन समितिमा काम गर्न सक्नेहरुमध्येलाई ध्यान दिए पनि नेपाली कांग्रेसले नेका बुनपा वडा नं. १२ का सभापति श्याम डोटेलले जसलाई चाह्यो उसैलाई पठाउँदा नेकाको इज्जतको धज्जि उडेको एक नेका क्षेत्रीय प्रतिनिधिले कपन अनलाइनलाई बताए । बालउद्धार व्यवस्थापन समितिका अध्यक्ष रहेका श्याम डोटेलले नेपाली कांग्रेसबाट ककस्लाई व्यवस्थापन समितिमा लैजाने भन्ने जिम्मा लिएका थिए । श्यामको निर्देशनमा यसअघि व्यवस्थापन समितिमा रहेका राष्ट्रबैंका पूर्व सिनियर कर्मचारी नारायणप्रसाद काफ्लेसहित नयाँ सदस्यहरुमा नेका क्षेत्रीय सचिव तथा विद्यालय शिक्षक विनोद चालिसे, वडा नं. १४ का पूर्व सभापति तथा इन्टेरियर डेकोरेसनमा काम गर्ने टंक सापकोटा, नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा बालुवा, गिट्टी व्यवसायी किशोर गुरुङ र एक सहकारीका अध्यक्ष तथा अझै आधिकारिक रुपमा नेपाली कांग्रेस नबनिसकेका पुस्कर चालिसेलाई विद्यालय व्यवस्थापन समितिमा पठाएका छन् । बालउद्धार स्कूलका अध्यक्ष रहेका डोटेल आफै पनि समितिका पदेन सदस्य हुन् ।
नेका क्षेत्रीय सचिव विनोद चालिसे व्यवस्थापन समितिमा !
श्याम डोटेलले कपन क्याम्पसको व्यवस्थापन समितिमा सिफारिस गरेका व्यक्तिमध्ये एक नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापतिसमेत रहेका विनोद चालिसे हुन् । तत्कालिन कपन गाविस नेपाली कांग्रेसका सभापति समेत रहिसकेका विनोद ग्रामशिक्षा स्कूलका शिक्षक हुन् । कपन बहुमुखी क्याम्पसको सदस्यमा विनोदको चयनलाई नेकाले निर्जल्ल राजनीति पस्किएको भन्दै चौतर्फि आलोचना भएको छ ।
३ वर्षे कार्यकालमा ३ पटक उपस्थित नभएका राई फेरि समितिमा
एमाओवादीले पनि कपन क्याम्पस व्यवस्थापन समितिमा निर्लज्ज राजनीति गरेको छ । यस अघि पनि व्यवस्थापन समितिमा रहेका सुवास राईलाई सो पार्टीले फेरि एकपटक दोहोर्याएको प्रति आलोचना खपिरहेको छ । राई यसअघि व्यवस्थापन समिति रहेर सबैभन्दा कम मिटिङमा उपस्थित हुने व्यक्ति हुन् । राईसहित पहिलाको व्यवस्थापन समितिमा रहेका शिक्षक पृष्ठभूमिका ठाकुर खकुरेललाई एमाओवादीले दोहोर्याएको छ भने पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष गणेश अधिकारी र पूर्व शिक्षक एवम् सहकारी संचालक माधव आचार्यलाई व्यवस्थापन समितिमा ल्याएको छ । ठाकुर खकुरेल यसअघि पनि उपाध्यक्ष थिए हाल पनि उपाध्यक्ष भएका छन् ।
डम्बर अधिकारीले अर्थहिनरुपमा दिनभरी झुलाए !
२१८ जना सदस्य रहेको कपन क्याम्पस सदस्यहरुबीच अत्यन्त कमजोर मताधार भएर पनि बालउद्धार स्कूलका पूर्व अध्यक्ष डम्बर अधिकारीले दिनभर अध्यक्षमा दावी गरेका थिए । उनले गरेको अर्थहिन दावीले दिनभर राजनीतिक पार्टीहरुबीच पटक पटक छलफल चलेको थियो जसले गर्दा कार्यक्रम अनावश्यक रुपमा लम्बेको थियो । अन्ततः अधिकारी सदस्यसमेत बन्न सकेनन् । अधिकारीको यो दावीलाई एमाआवादीभित्र आन्तरिक समस्या मिलाउन गरिएको प्रयास मात्र थियो भन्ने चर्चा कार्यक्रमपछि सार्वजनिक भएको थियो ।
पुरुषोत्तम नेपाललाई हटाउनु एमालेको भूल
यसअघिको ३ वर्षे कार्यकालमा २५ सदस्यीय कार्यसमितिभित्र एकदमै क्रियाशिल मध्ये एक पुरुषोत्तम नेपाललाई एमालले नदोहोर्याएकोमा सर्वत्र आलोचना भएको छ । नेपाललाई नदोहोर्याउनुभित्र एमालेभित्रको गुटगत खेल भएको चर्चा चलिरहेको छ भने उनको सट्टामा एमालले महिला प्रतिनिधिको रुपमा निजामति कर्मचारी भवानी दाहाललाई ल्याएको छ । दाहालबाहेक एमालेले पहिलाकै व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझा, सदस्यहरुमा केदार पुडासैनी, आरएम् डंगोल र संगम गहतराजलाई दोहोर्याएको छ ।
कान्छो माओवादीमा पनि सकस!
नेकपा माओवादीले यो भन्दा अघि कपन क्याम्पसको व्यवस्थापन समितिमा ४ जनालाई सदस्य बनाउन सफल भएको थियो । यसपटकको भागवण्डामा आइते लामाको राप्रपा नेपाल आएपछि माओवादीको एक सदस्य खोसिएपछि सो पार्टीलाई सकस भएको थियो । माओवादीले निकै गारोसँग कपन क्याम्पस व्यवस्थापन सचिवालयमा रहेका एवम् कपन अनलाइनका पत्रकार अशोकराज पाण्डे, साहित्यकार एवम बाणिज्य बैंकका उच्चतहका कर्मचारी मित्रलाल पँज्ञानी र महिला सामाजिक अगुवा शारदा आचार्य सुवेदीलाई दोहोर्यायो । यस अघि सो पार्टीबाट क्याम्पस व्यवस्थापन समितिमा रहेका शिक्षण पेशामा संलाग्न सुरेश कटुवाल पार्टीको यो निर्णयप्रति चरमरुपमा रुष्ट भएका छन् ।
राप्रपा नेपाललाई पनि दुई सिट !
कपनमा राप्रपा नेपालले पहिलोपटक कुनै पनि सार्वजनिक पदमा आफ्नो स्थान सुरक्षित बनाएको छ । आइते लामा रवाफमा हाँकिने सो पार्टीका तर्फबाट पण्डित ऋषि गुरागाइँ र कविराज पराजुली सदस्य भएका छन् ।