नयाँपानीलाई पर्यटकस्थल बनाइने

नयाँपानीलाई पर्यटकस्थल बनाइने

चौतारा, १० माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार सुविधाका लागि प्रस्तावित पुष्पलाल लोकमार्गमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची–चौतारा क्ष्ोत्रमा अप्टिकल फाइबर बिछ्याइ सूचना प्रविधिको विकासका लागि विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

मन्त्री राईले सिन्धुपाल्चोकको बाडेगाउँ गाविस–४ धुसेनीस्थित नयाँपानीमा शनिबारदेखि सुरु भएको चतुर्वेद पारायण ज्ञान महायज्ञको उद्घाटन गर्दै नयाँपानी स्थललाई धार्मिक पर्यटकस्थल बनाउन र बाहुनेपाटीस्थित इन्द्रावती नदीमा पक्की पुल निर्माणका लागि पहल गरिने आश्वासन दिनुभयो ।

प्रत्येक १२ वर्षको कात्तिक महिनामा पानीको मूल पलाउने र असारमा सुक्ने विशेषता रहेको सो स्थानलाई पर्यटकीय क्षत्रका रुपमा विकास गरी आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य साथ स्थानीयवासीले पहल सुरु गरेका छन् । सो क्षेत्रमा आगामी फागुन १० मा समापन हुने गरी एकमहिने विशेष कार्यक्रम आयोजना गरिने नयाँपानी क्षेत्र संरक्षण समितिले जनाएको छ ।

सो कार्यक्रममा स्वामी सम्पूर्णानन्द सरस्वती प्रमुख वाचक तथा गुरुकुलमा अध्ययनरत पञ्चकन्या विदूषी वाचिका रहेको संरक्षण समितिका सचिव रमेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
विसं २०६८ मा ‘नयाँपानी स्नान मकर महोत्सव’को पनि आयोजना गरिएको थियो । सोही समयदेखि नयाँपानी संरक्षण समितिको नाममा विधिवत् रुपमा दर्ता भई सप्ताह कार्यक्रमबाट उठेको चन्दा करिब रु ३२ लाखबाट सो क्षेत्रको सुधार थालिएको थियो ।

सो क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण र सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको सम्पर्क समन्वय समितिका सदस्य शशीनाथ आचार्यले बताउनुभयो । समुद्री सतहबाट करिब एक हजार ५५० मिको उचाइमा रहेको सो स्थानमा सल्लाको रुखका बीचमा रहेको पहरो फुटेर आधा इन्च पानी पलाउने गरेको समितिका अर्का सदस्य बुद्धिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।