नेपालको शिक्षालाई परिवर्तन गरेरै छाड्छु ः शिक्षामन्त्री पोखरेल

नेपालको शिक्षालाई परिवर्तन गरेरै छाड्छु ः शिक्षामन्त्री पोखरेल

खोटाङ, २१ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रूपमै परिवर्तन गरेर छाड्ने बताउनुभएको छ ।

giriraj-mani-pokharel-e1446128313551
खोटाङको दिक्तेलमा सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा अहिले जटिल समस्या देखिएको छ, यसलाई तल्लो तहदेखि मन्त्रालयसम्म सुधार गर्नमा आफू लागिपरेको छु ।”

संविधान प्रचार अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री पोखरेलले राष्ट्र र राष्ट्रियताका लागि आत्मैदेखि लागिपर्न शिक्षा सम्बद्ध व्यक्तिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “शिक्षा भनेको परिवर्तन हो । तपाईंहरू त्यही पेसामा हुनुभएकाले आफ्नो पेसालाई नतिजामूलक बनाउनुहोस् ।”

एकीकृत नेकपा (माओवादी)का सचिवसमेत रहनुभएका मन्त्री पोखरेलले पार्टीको भ्रातृ संस्थाका व्यक्तिका रूपमा भन्दा आफूलाई शिक्षक भनेर चिनाउन शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “आगामी दिनमा शिक्षकले पार्टी सदस्यता लिन पाउने छैनन् ।”

शिक्षा क्षेत्रको सुधारका लागि आफूले संसद्मा विधेयकसमेत पेस गरिसकेको सो विधेयकले शिक्षकलाई पार्टीको सदस्य बन्न नदिने दाबीसमेत मन्त्री पोखरेलले गर्नुभयो ।

अन्तक्र्रियामा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जिल्ला शिक्षा अधिकारी, प्राविधिक, शिक्षक सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीले आ–आफ्नो जिल्लाको शैक्षिक तथा भौतिक अवस्था, चुनौती र भए गरेका प्रगतिका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । रासस

तपाइँको प्रतिक्रिया ।