एमालेको कोसी अञ्चल भेलाद्वारा १९५० को सन्धिलाई संशोधन गरी सीमावर्ती क्षेत्रमा तारघेरा गर्न सुझाव
विराटनगर, २०पुस । नेकपा (एमाले) को हिजो सम्पन्न कोसी अञ्चलस्तरीय दुईदिने भेलाले नयाँ संविधानको हार्दिक स्वागतका साथ १८ बुँदे प्रस्ताव पारित गरेको छ ।
सो पार्टीका कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेले सो पारित प्रस्तावमा संविधानको कार्यान्वयन गर्नका लागि आवश्यक कानुन र प्रान्तीय संरचना निर्माण यथाशीघ्र गर्नुपर्ने, मोरङ, सुनसरी र झापालाई एक नं प्रदेशबाट टुक्र्याउने नहुने, मधेसको समस्या समाधान गर्नुपर्ने, सामाजिक सद्भाव बिथोल्न नदिन राज्यको बलियो उपस्थिति हुनुपर्ने उल्लेख गरिएको जानकारी गराउनुभयो ।
त्यसैगरी, नेपाल–भारतको सन् १९५० को सन्धिलाई समयसापेक्ष संशोधन गरी सीमावर्ती क्षेत्रमा तारघेरा गर्न र आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र चीनसँग व्यापार, वाणिज्य र पारवाहन सन्धि अविलम्ब गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ ।
यसका साथै नेपाल–चीन व्यापारका लागि जोगवनी– किमाथाङ्का नाका खोल्ने कार्यको पहलको स्वागत, अरुण तेस्रो परियोजनाको यथाशीघ्र सञ्चालन, चुरेमार्ग चाँडै निर्माण गर्नुपर्ने, अविलम्ब स्थानीय निकायको निर्वाचन र भारत सरकारले लगाएको नाकाबन्दीलाई अविलम्ब अन्त्य गर्नुपर्ने प्रस्ताव पारित गरिएको हो ।
त्यसैगरी, राष्ट्रपति विद्या भण्डारीमाथि राष्ट्रकै प्रतिष्ठामाथि आँच आउने गरी पुस १ गते जानकी मन्दिरमा मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएका कार्यको निन्दा र भत्र्सनाका साथै दोषीमाथि कडा कारबाहीको माग पनि गरिएको छ ।
सुनसरीको हरिपुरमा हालै भारतीय सीमा बलद्वारा चारजना नेपालीमाथि भएको गोली प्रहारको घटनाको भत्र्सना, ऐतिहासिक छिन्ताङ्काण्डका सहिदलाई राज्यले अहिलेसम्म सहिद घोषणा नगरेकोमा दुःख व्यक्त, विराटनगर विमानस्थलको स्तरवृद्धिका साथै काँकडभिट्टादेखि ४० किलोमिटर दूरीमा रहेको बङ्गलादेशको चटगाउँबाट अन्तर्राष्ट्रिय व्यापार गर्न पहल गर्न मागसमेत सो भेलाले गरेको छ ।
सोही अवसरमा एमाले उपमहासचिव घनश्याम भुसालले संविधानको विषयमा सर्वसाधारणलाई जागरुक गराउनका साथै मधेसमा संविधानको विषयमा फैलाइएका भ्रमलाई चिर्न र पार्टीको सङ्गठनलाई सुदृढीकरणका लागि पार्टीले अञ्चलस्तरीय भेला गरिरहेको जानकारी गराउनुभयो ।
एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले गरेको तोडफोडलगायतका घटना राजनीतिक कार्य नभएको र यस्ता कार्यको चारैतिरबाट विरोध भइरहेको बताउनुभयो ।