राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

काठमाडौँ, ९ पुस । स्वदेशी उत्पादनको प्रवद्र्धन तथा व्यापार गर्ने उद्देश्यले १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

1450953341304_RS-KTM-mantri Som P pandya
फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपाल र नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घको आयोजनामा सुरु भएको यस आयोजनामा छालाजुत्ता तथा छालाका सामग्री प्रदर्शनीमा राखिएको छ ।

सात दिनसम्म चल्ने उक्त मेलाको उद्घाटन गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई विस्तार गर्नुपर्ने बताउनुभयो । उपभोक्ताको चाहनाअनुसार छालाका सामग्री उत्पादनमा गरेर आयातलाई कम गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी दिनमा अन्तर्राष्ट्रियस्तरमा व्यापार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेयले अप्रशोधित छालाको निर्यातलाई कम गर्ने र छाला तथा छालाजन्य सामग्री उत्पादन गर्ने दक्ष जनशक्ति तयार गर्न आवश्यक तालिमको व्यवस्था गर्न उद्योग मन्त्रालयले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वरी घिमिरेले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन उद्योगीले गुणस्तरीय उत्पादनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले लगातारको बन्द र नाकाबन्दीका कारण औद्योगिक क्षेत्र मर्माहत भएको उल्लेख गर्दै अप्ठ्यारो अवस्थाबाट उद्योगलाई माथि उठाउन आफूहरुले दिएको सुझावलाई सरकारले कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हस्तकला सङ्घका अध्यक्ष धर्मराज शाक्य, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका अध्यक्ष रबिनकुमार श्रेष्ठ र नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घका सुरज ब्रजाचार्यले स्वदेशी कच्चापदार्थको प्रयाग गरी उत्पादन गर्ने उद्योगीलाई ऋणमा सहुलियत दिनुपर्ने माग गर्नुभयो ।

‘नेपाली सुट नेपाली बुट’ भन्ने नारामा सुरु प्रदर्शनीमा १०५ वटा व्यापार कक्षमध्ये १५ वटा सिलाइ व्यवसायी, छवटा छालावस्तु र बाँकी जुत्ताका छन् । एक लाखले अवलोकन गर्ने रु दुई करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

तपाइँको प्रतिक्रिया ।