राष्ट्रपतिमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भयो ः प्रम

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनुभएको छ ।

नेकपा (एमाले)प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रदेशको विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताउनुभयो ।

प्रदेश नं ४का एमालेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र जिल्लाका पार्टी अध्यक्ष सहितको टोलीले आज प्रधानमन्त्रीलाई भेटी चीनसँग जोडिएको कोरला नाका सञ्चालन गर्न एवम् पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

“स्वार्थपूर्तिका लागि केही मानिसले देशलाई बन्धक बनाउन हुन्न, जायज माग सबैका पूरा हुन्छन्, अनुचित माग जोसुकैको पनि पूरा हुन सक्दैन, सभ्य रुपमा माग राख्न सकिन्छ, मागका नाममा गैरजिम्मेवार असभ्य व्यवहार प्रदर्शन गर्नेलाई सरकारले नियन्त्रण गर्छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

तराईमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर गृहकार्यमा लागेकाले केही दिनमा वातावरण सङ्लिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको थियो । आपूर्ति व्यवस्थालाई बिगारेर फाइदा लिन पल्केकाहरुले वातावरण सप्रिन नदिने प्रयत्न गरेको सूचना आफूले पाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

“संविधासभाबाट जारी भएको संविधानले नेपाली नागरिकले विवाह गरेकी भारतीय छोरीले अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाइएको भनी तराई क्षेत्रमा दुष्प्रचार गरिएको रहेछ, असोज ३ पछि आजसम्म ५९६ महिलाले अङ्गीकृत नागरिकता पाएका छन्,” उहाँले भन्नुभयो ।

पर्यटकीय क्षेत्रले भरिएको चार नं प्रदेशको विकास निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको थियो ।

कोरला नाका शीघ्र सञ्चालन गर्न माग
सो प्रदेशमा पर्ने उपल्लो मुस्ताङको छोन्हुप गाविसमा रहेको कोरला नाका (नेचुङ भन्सार) शीघ्र सञ्चालनमा ल्याउनका लागि चीनसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको थियो । सो नाका पोखरा, बेनी, जोमसोम, लोमन्थाङ कोरला सडक उत्तरको तिब्बत र दक्षिणको सुनौली जोड्ने सबैभन्दा छोटो दूरीको नाका हो ।

ज्ञापनपत्र पेस गर्दै एमालेका पोलिटब्युरो सदस्य एवम् धवलागिरि इञ्चार्ज गणेश तिमल्सिनाले म्याग्दीको सदरमुकाम बेनीबाट १७६ किमी दूरीमा रहेको कोरला नाका सञ्चालनमा ल्याउन सरकारले छिटो पहल गर्नुपर्ने माग गर्नुभएको थियो । “यो नाका ४ नं प्रदेशको विकासका लागि कोसेढुङ्गा साबित हुनेछ, समग्र राष्ट्रिय विकासमा पनि यो नाका खुलेपछि उल्लेखनीय योगदान मिल्नेछ,” उहाँले भन्नुभयो ।

जोमसोमबाट कोरला नाकासम्म करिब १०० किमी सडक चार लेनको बनाउन र बेनीसम्मको ७६ किमी सडकको स्तरोन्नति गर्न सकेमा नाका छिटो सञ्चालनमा ल्याउन सकिने ४ नं प्रदेशवासीको विश्वास छ ।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विसं २०३१ मा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिलेसम्म निर्माण सुरु नभएकाले छिटो निर्माणको व्यवस्था मिलाउन पनि प्रधानमन्त्री ओलीसमक्ष सो अवसरमा माग गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।