पशुपतिनाथको नागमणि, मुकुट र एकमुखे रुद्राक्ष सर्वसाधारणलाई देखाइयो

काठमाडौँ, २६मङ्सिर । वर्षमा एक दिनमात्र सर्वसाधारणलाई देखाइने पशुपतिनाथको नागमणि, मुकुट र एकमुखे रुद्राक्षलगायत बहुमूल्य पुरातात्विक सामग्री हिजो  देखाई मूल ढुकुटीमा थन्क्याइएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मूल ढुकुटीबाट झिकी बाला चतुर्दशीका दिन पहिराएर आज औँसीका दिन थन्क्याउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

“यी सामग्री लिन त्रयोदशीका दिन भणि भूकबलका मूल भण्डारीमात्र मूल ढुकुटीमा जान पाउने नियम छ, उहाँले सबै कपडा फुकालेर धोतीमात्र लगाई सामग्री ल्याउने र आज लैजानुपर्छ, जानु र आउनु अघि शरीरको जाँच गर्ने गरिन्छ”– उहाँले भन्नुभयो ।

हाल सो कबलको मूल भण्डारी कविन्द्रराज भण्डारी रहनुभएको कोषले जनाएको छ । यी सामग्री हेर्न पशुपति मन्दिर परिसरमा सर्वसाधारणको भीड लागेको थियो । विसं २०६८ अघि आजैका दिन पशुपतिको ढुकुटीमा जम्मा भएको भेटीघाटी सार्वजनिक गर्ने गरिएको थियो ।

विसं २०६८ चैत २६ गते कोषले भेटीघाटी दैनिकरुपमै दानपत्रमा जम्मा गरी सार्वजनिक गर्न थालेपछि यो चलन हटेको हो ।

तपाइँको प्रतिक्रिया ।