सम्मेलनमा भाग लिन प्रधानमन्त्री लागे ब्राजिलतिर

४ असार, काठमाडौ । प्रधानमन्त्री डा बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियोमा हुने अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी राष्ट्र संघीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरे ।

आज दिउसो ३:५५ बजे प्रधानमन्त्री २४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।
ब्राजिल जानु अघि प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलन अत्यन्तै महत्वपूर्ण भएको बताए ।
उनले सम्मेलन नेपाल र नेपाली जनताको हितका लागि महत्वपूर्ण भएको भन्दै सो सम्मेलनमा भाग लिन लागेको बताए ।
नेपाल एउटा अल्पविकसित देश भएकाले सो सम्मेलनमा विकास र पर्यावरणीय समस्या मुखरित गर्ने महत्वपूर्ण अवसर भएको प्रधानमन्त्रीले सो अवसरमा बताए ।
विश्वमा देखिएको वातावरणीय समस्या समाधान गर्नको निम्ति संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा आयोजित उक्त सम्मेलनमा विश्वका झण्डै १५०  देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखले भाग लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री डा भट्टराईलाई विदाई गर्नका लागि उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार,प्रधानन्यायाधीश, मन्त्रीहरु, सुरक्षा अङ्गका प्रमुखहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित थिए ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सलामी दिएको थियो । रासस
तपाइँको प्रतिक्रिया ।