मुस्कान : रुपक राई
कपन अनलाइन
काठमाडौं, असोज १२।
‘झयाम्म ! झुरुम्म !’
तिमीले फेरि फुटाइदिंदा
भान्साका कप र कचौरा
“ओइ बदमाश मोरा“
म तिमिलाई हप्काउन यसोक्क हेर्छु
तर तिमी मलाई हेरेर मुसुक्क हासीदिन्छौ !
तब एक मुठी बतासले उडाएको धुलोझैं
मेरो झिनो रीस बेपत्ता हुन्छ !
सायद तिम्रो मुस्कानको लहरले
मेरो हृदयको तार छुन्छ
म हठात् तिम्रो हत्केला हेर्छु
हात नियाल्छु
कतै दख्खल नपरेकोले
राहत महसुस गर्छु
र तिम्रो औला चुमेर भन्छु
–‘मेरो पियारो मान्छु
यी चिजबिजहरू भन्दा कैयौं गुणा अधिक
मलाइ तिम्रो मुस्कान मुल्यवान लाग्छ !’
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
