पुरानो कोट : त्रिलोचन आचार्य ( कविता )

पुरानो कोट : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन
काठमाडौं, असोज १२।

कति चोट खपीकन कोट बसिस्
पर धाउँदथिस् किन भित्र पसिस् ?
किन दूर भए दुनियाँ परका ?
किन हेर्न बसिस् रटना घरका ?

सुकिलो मुकिलो हुनुपर्छ भनी
वनफूल सजाउनुपर्छ भनी
कति मख्ख परीकन जन्त गईस्
किन आज उदास निराश भईस् ?

कति मैलिनु चित्त यसै कुँडियो
कति रंग उडेर निदाउनु हो
अनि पिल्पिल भै किन हेर्दछ यो
सब बैँश लुटिस् पनि भन्छ अहो !

म सभातिर जो जति पुग्नु थियो
सँग गै यसले अति पे्रम दियो
तर हेर अचानक यो अडियो
अनि फट्ट किलातिर पो ठडियो

न विकल्प चुनिस् किन भन्न सक्यो
न बनेर रिपू पर बन्न सक्यो
न त प्यार गरी सँग हिँड्न सक्यो
बरु खिन्न तथा चुपचाप छ यो

छ धुलो तहका तह चाङसरि
छ कसिङ्गर नै पनि आङभरि
म भएछु बुढो न त भन्न सक्यो
छ कुनातिर यो गजधम्म अहो ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।