देशलाई आत्मनिर्भर बनाउने बाटोमा मेरो ध्यान जान्छ ः प्रम

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित नेपाल, सुखी र सम्पन्न नेपाली बनाउने अभियानमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ ।

1448190900340_Pro_Ktm_KP OLI_Nadrinarayan dham (1)

नागार्जुन नगरपालिका–९ रामकोटमा बद्रीनारायण धामको शिलान्यास तथा नारायण सत्सङ्ग भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “त्यसको अगुवाइ सरकारले गर्ने छ, प्रधानमन्त्रीको हैसियतले मैले अगुवाइ गर्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।”

आफूले मुलुकलाई शीघ्र र तीव्र विकासको बाटोमा लैजान चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको परिस्थितिभित्र रहेर गरिने सबै काम गरिनेछ, देशलाई आत्मनिर्भर र स्वावलम्बन बनाउने बाटोमा मेरो ध्यान केन्द्रित रहेको छ ।

ऋषिमुनि र विद्वान्का सन्तान, प्रकृतिले भरिपूर्ण उर्वर देशका जनता र मुलुक गरिब र पछाडि परेको छ भन्ने कुरा कहीँ कतैबाट पनि मिल्ने र सुहाउने कुरा होइन भन्दै उहाँले यो अवस्थालाई आफूले छिटोभन्दा छिटो बदल्न चाहेको उल्लेख गर्नुभयो ।

“वाचन शिरोमणि पण्डित नारायण पोखरेल प्रतिष्ठानले असल कामको निम्ति प्रयत्न अघि बढाएको छ, यसमा सधैँ आफ्नो सहयोग र समर्थन रहने छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

चारधाममध्ये एक धामका रुपमा विकास गर्ने उद्देश्यका साथ शिलान्यास गरिएको बद्रीनारायण धामको निमार्णलाई सकेसम्म छिटो पूर्णता दिनुपर्छ भन्दै उहाँले नारायण सत्सङ्ग भवन चराचर, प्रकृति, मानवजाति र समाजको यावत् पक्षमा गहन चिन्तन, मनन र ज्ञानप्राप्त गर्ने स्थानका रुपमा विकसित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका प्रमुख संरक्षक एवम् वाचन प्रवीण दीनबन्धु पोखरेलले धार्मिक पर्यटनका नाममा नेपालबाट प्रत्येक वर्ष डेढ लाखभन्दा बढी चारधाम जाने सन्दर्भमा भारतका बद्री र केदारनाथ पुग्ने र उनीहरुले अर्बाँै रुपैयाँ धार्मिक पर्यटकका रुपमा खर्च गर्ने गरेकाले त्यसलाई रोक्न तथा स्वदेशी धन स्वदेशमै परिचालन गर्न सकियोस् भनेर मुलुककै पहिलो अध्यात्मिक केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

हिमालयको देश नेपालले हिमालबाट ज्ञानको गङ्गा बगाउन सक्ने र अध्यात्मबिनाको राजनीतिले पूर्णता प्राप्त गर्न नसक्ने सन्देश प्रवाह गर्न आवश्यक भएको सो अवसरमा वक्ताले जोड दिनुभयो ।

सरकारले उपलब्ध गराएको २२ रोपनी जमिनमा रु २५ करोडको लागतमा उक्त धार्मिकस्थलको निर्माण गर्न लागिएको हो । बद्रीनारायणको ठूलो मन्दिरसहित गणेश, देवी, सूर्य र शिवका मन्दिर त्यहाँ एकैसाथ निर्माण गरिने प्रतिष्ठानले जनाएको छ । ती सबै कार्य चार वर्षभित्र पूरा गरिने लक्ष्य लिइएको छ ।

अध्यात्मको माध्यमबाट समाजमा जागरण पैदा गराएर सामाजिक विकासका लागि काम गर्नुभएका वाचनशिरोमणि नारायणप्रसाद पोखरेलको योगदानको चीरकालसम्म स्मरण र सम्मान होस् भन्ने उद्देश्यले उक्त प्रतिष्ठानले सो धामको निर्माण आरम्भ गरेको जनाएको छ ।

प पोखरेलको भागवत सप्ताह वाचन गरिरहेकै बखत २०६३ सालमा रुपन्देहीको दुधराक्ष गाविसमा हत्या गरिएको थियो । हिन्दूको पावन पर्व हरिबोधनी एकादशीका दिन पारेर उक्त धामको शुभारम्भ गरिएको हो । रासस

तपाइँको प्रतिक्रिया ।