वृद्धमा खुसी फुलोस् : पदम दाहाल ( कविता )
कपन अनलाइन
काठमाडौं भदौ २७।
पालुवा बुटा–बुटी नदी–किनार रम्दछन्
उत्सवै छ लेकमा गुराँस रास झुम्दछन् ।
कोइली लुकी कतै गरेर प्रश्न पर्खिंदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।१।
मस्तराम चाल छन् प्रबन्ध गर्छ को अरे ?
रङ्ग राग फैलिंदा हऊन् प्रफुल्ल यादले ।
उब्जिऊन् उभार झन् वसन्तराज आउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।२।
याम क्या खुसाउने बिसाउँदै सुवासना
कर्म खोज वृन्द हो ! उचालिनेछ सिर्जना ।
पर्व प्रेय गर्वको वसन्तले चियाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।३।
नव्यता छ खेल झैँ परिक्रमा निवासमा
भव्यता उघार्छ जो बहन्छ भाव साथमा ।
मोहिनी कि रागिनी महाप्रमोद पाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।४।
काख कोख रम्यता दुसाध छैन दृश्य छन्
आसपास नौगुना मिठास हर्हराउँछन् ।
द्रोह दर्द फाल्छ झन् प्रभात मिर्मिराउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।५।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
