पानी, पानी र बाढी : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं भदौ २७।
काठमाडौं भदौ २७।
१. अनेकौँ यत्नले आफैँ यौटा संसार जो उठ्यो
आएर बेसरी बाढी जिन्दगानी लुट्यो टुट्यो
२.यसरी दौडियो भेल जसरी आँधी आउँछ
गायो सुसाउँदै गीत जसरी मृत्यु गाउँछ
३. देखेन उसले आँखा कहाँ बाटो कहाँ घर
आफैँ विनाश बोक्नेले कहाँ हेरेर हिँड्छ र
४. भागौँ भन्ने स्वयं बग्दा सुन्नेले भ्याउँथ्यो कहाँ
नसोचेको हुँदा मान्छे बाटो भेट्टाउँथ्यो कहाँ
५.मेलैसित हिँड्यो भेल नछाडेर कुनै कुरा
भनेन जसले पाका तन्नेरी अनि आँकुरा
६. बिसर्जन भयो सृष्टि रचनाकार जिल्लियो
टप्किएको थियो आँसु टाकुरा सबमा अहो
७.भगवानहरु भेटी आशीर्वाद लिने भनी
जानेहरु परे पर्दा भगवान स्वयं पनि
८. पग्लिई हिँउँका पाखा परे पोखरीमा खसी
उठे समुद्र अग्लेर मान्छे बँच्छ कहाँ बसी
९.यै पानीमा थियो काम यै पानीले गरे खती
आगोमा कसरी हुन्छ पोलेको खुद ओखती ?
१०. रोयो लांटांग वा लेन्दे रसुवा त्रिसुली सब
संसारै पल्टिँदा नाप्न क्षतिको कुन सम्भव
११. आमा आमा भनेका छन् बाँची निरीह बालक
विछोड जन्मदाताको हुन्छ खप्नै असम्भव
१२.लाशकै खात देखिन्छ यत्र तत्र भने जहाँ
नाशकै लागि हो सृष्टि भने के छर विश्वमा
१३.स्रष्टा हुर्काउँदै आफैँ मिल्काउने स्वयं भए
गयो यो जिन्दगी हाम्रो भयो सारा विदा लिए
१४.त्यै पानी प्राणको साथ त्यै पानी प्राण घातकी
भूमिका दोहोरो गर्छ बुझौँला कसरी मति
१५. सहन्छन् कसरी मान्छे यस्तो प्रकृतिको छल
जानेले देख्न पाएनन् बाँच्नेका आँसुका भल
१६.कालो बादल खोलाको तिरमा भिन्न देखियो
प्यारो पानी स्वयं उफ्री सारा संसार नै लग्यो
१७. रुवावासी छ पानीको छलले आज देशमा
विनाशकाल आएछ बाढीको छद्म भेषमा
१८.खोलाको प्रेमले मान्छे बस्थ्यौँ नजिक नित्यो जो
पानीले मुटु पोलेर, बाँच्नेको मन भाँचियो ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
