निर्भय बाँच्न देउ : भलादमी भोला
कपन अनलाइन
काठमाण्डौ,असार २०।
अलिकति आवेग
अलिकति क्रोध
अलिअलि निराशा
फुङ्मा उडेको कपाल
पन्छाउँदै वीर अस्पतालको
सघन उपचार कक्ष अगाडि
काखे छोरीलाई
दूध चुसाउँदै छे
लक्ष्मी परियार ।
अस्पतालको सिलिङ्गमा
चम्किरहेको ट्युबलाइट
जस्तै थियो उसको जिन्दगी
मन्द मन्द उज्यालोमा
गतिशील ।
ऊ कर्मवीरकी श्रीमती थिई
ऊ श्रमजीवीकी आस्था थिई
उसलाई देशको सिमाना
कहाँसम्म हो थाहा छैन
उसलाई सडकमा कतिबेला
बाटो काट्नुपर्छ थाहा छैन
उसलाई त केवल
बिहान बेलुका पेटभरि
खाना काम गर्नुपर्छ भन्ने थाहा छ
उसको इच्छालाई
बोकेर हिँडेको उसको खसम
किन जलिरहेछ
मूल सडकमा ।
रमिते भएर हेर्नेहरूको भिड
किन कसैले निभाउन सकेन आगो
किन कसैले सुनीदिन सकेन गुनासो
न व्यवस्था विरोधी थियो ऊ
न अपराधमा जेलिएको थियो
प्रत्येक पाइलामा ख्याल गर्दागर्दै
अनयास अग्निदाहा गरेर
उसले हामीलाई के भनिरहेको थियो
अस्पतालका शैय्याहरूबाट
उसका निर्दोष आँखाहरूले
प्रत्येकलाई सोधिरहेछन्
निर्धाहरूले कहिलेसम्म
निर्धो भइरहनुपर्ने
तिम्रा आश्वासनमा कति पटक
हामीले बलिदान दिनुपर्ने
लैजाउ निःशुल्क यो जीवन
बाँच्न देउ बगैँचाका फूलहरूलाई
बास्ना छरेर निर्भय ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
