पानी, पानी तथा पानी : त्रिलोचन आचार्य (कविता )

पानी, पानी तथा पानी :  त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,असार २०।

पानी जीवनदायी, यो सर्वथा ध्रुव सत्य हो
किन्तु कारण यै बन्छ कहिले सर्वनाशको
त्रियासी दश भाद्रैमा नराम्रो घटना भयो
प¥यो संसारले देख्नु पानीको रौद्र रुप यो ।१।

कहाँ के भो कहाँ के हो सयौँ मिटर उफ्रिँदै
कोटेकोशी बनी उग्र आयो क्रोध फिँजाउँदै
कहाँ छ टिमुरे ? सम्मै बेत्रावती कता पुग्यो ?
बगायो त्रिशुली गल्छी वस्ती पुल कता गयो ? ।२।

देख्दा आवेग बाढीको गति तीब्र बतासझैँ
भागी भाग्न कहाँ सक्नु देख्दै बन्ने हतासझैँ
कुहिरोको थियो छाता हिलोका पाइला थिए
रकेटमा थियो यात्रा भन्नुजस्तो कुदाइले ।३।

घरवास लग्यो धेरै नराखी ममता पनि
पक्कीपुल तथा बाटो लग्यो निर्दयझैँ बनी
आई सडक वस्तीमा ताण्डव नृत्य जो ग¥यो
प्रकृतिको कलामाथि प्रश्न उठाउनै प¥यो ।४।

हाहाकार प¥यो मान्छे बाँच्ने हक मिची मिची
बगायो वा पु¥यो गाड्यो लेदो मुनी थिची थिची
विनादोष परे मर्नु सिर्जना गरियो किन ?
विद्यालय कुनै छैनन् क्षणका क्षणमा झन ।५।

गएका कति यात्रामा फर्किएनन् कठै घर
गएका कामका विज्ञ कता पुगे कठैवर
गोसाइँकुण्ड वा जाने धेरै मानसरोवर
परे विपत्तिमा सारा गरायो प्राण सोत्तर ।६।

चर्को सुसाउँदै आयो रिसाएझैँ गरी गरी
ढुंगामाटो लिई आयो बलियो बन्न आखिरी
निलौँलाझैँ गरी आयो एकै श्वास सबै कुरा
मान्छे निरीह भै हाल्यो उडायो जिन्दगी पुरा ।७।

पानी पानी थियो पानी आक्रामक भयानक
बम बारुदझैँ लाग्थ्यो बनेको मृत्यु कारक
पानीकै जगमा उठ्दो सिर्जना सब सुन्दर
लालायित थियो आफैँ घाँटी ङ्याक्न सबैतिर ।८।

हिउँ हो पूmल पानीकै, भनौँ सुन्दर के गरी ?
हत्केलामा लिँदै पानी, भनौँ अम्मृत के गरी ?
कतै नायक यो पानी, कतै यै खलनायक
यो पीडा दर्द खै कैले होला बिर्सन लायक ? ।९।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।