नभबाट सिकौँ : त्रिलोचन आचार्य (कविता)

नभबाट सिकौँ : त्रिलोचन आचार्य (कविता)

कपन अनलाइन

काठमाडौं,साउन २१।

१. नभ सागर हो भरिपूर्ण सधैँ
नभ यो घर हो अति स्वच्छ सबै
नभ कानुन हो सब रीत सही
सुख भेट्दछु के ? नभमा म गई

२. कति बादलका सँग गाउँछ यो ?
कति नीर दलेर नुहाउँछ यो ?
कति घाम र जून सजाउँछ यो ?
कति दङ्ग परेर लजाउँछ यो ?

३. जति वेग हवा छरिएर उडोस्
जति मेघ गरी डमडम्म कुदोस्
जति पीण्ड घुमुन् पर पङ्ति बनी
न दवाव लिने, न त चित्त रुने

४. नभ घुम्छु भनौँ सकिँदैन घुमी
नभ चुम्छु भनौँ सकिँदैन चुमी
छ अपार हरे कुन पार तरौँ?
पर भाग्दछ के व्यवहार गरौँ?

५. तँ चरी कसरी प्रिय बन्न सकिस् ?
नभ डुल्छु मजासँग भन्न सकिस् ?
भन हे ग्रह हो अडियौ कसरी ?
भन बोटहरू ठडियौ कसरी ?

६. सकिँदैन समाउन साथ छ यो
सकिँदैन मनाउन सक्दछ को
सकिँदैन गलाउन यो छ खरो
सकिँदैन चलाउन यो छ दरो

७. जग मर्दछ रे नभ बाँच्छ सधैँ
सब चिन्तित छन् नभ नाच्छ सधैँ
दृढ बन्नु प¥यो, नभझैँ म टिकौँ
व्यवहार सफा, नभबाट सिकौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।