सार्वजनिक यातायातमा कालोबजारी ः यात्रुसँग मनपरी भाडा

काठमाडौँ, ४ मङ्सिर । भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै यातायात व्यवसायीले कालोबजारी गरी यात्रुसँग सके जति भाडा असुल्न थालेका छन् ।

डिजेल नपाएर ८० रुपैयाँको तेललाई ३०० तिरेर कालोबजारियासँग हाल्यौँ भन्दै मनपरी भाडा असुल्न थालेका यात्रुले गुनासो गरेका छन् । कालोबजारियासँग तेल किनेकाले बढी भाडा लिएका हौँ भन्दै खुलेआम लिन सकिने जति भाडा असुल्दा पनि यातायात व्यवस्था विभागले अनुगमन नगरेको यात्रुको दुखेसो छ ।

चक्रपथको स्वयम्भूदेखि जयबागेश्वरीसम्मको भाडा रु २५ हुनुपर्नेमा कालोबजारियासँग तेल किनेको भन्दै रु ६५ तिर्न बाध्य पारेको यात्रु ध्रुव शाहले बताउनुभयो । “तोकिएको भन्दा बढी भाडा किन उठाएको भन्दा तेल लिन पाँच दिनसम्म लाममा बस्यौँ, पाउन नसकेपछि कालोबजारियासँग ३०० सय लिटरमा तेल किन्यौँ, तोकिएको भाडा तिर्ने भए ८० रुपैयाँको तेल ल्याइदिनूस् भनी बसका सहयोगी जङ्गिए”– आफूले भोगेको घटना सुनाउँदै उहाँले भन्नुभयो ।

शाह मात्र होइन असोजपछि सार्वजनिक यातायातमा यो समस्या भोग्ने यात्रुको सङ्ख्या धेरै छ । यातायात व्यवस्था विभागले भदौ २५ मा लागू गरेको भाडादरको सबैभन्दा पहिले पारदर्शीरुपमा कार्यान्वयन गराएर प्रशंसा कमाएको कीर्तिपुर बस व्यवसायी सङ्घका बसले समेत कालोबजारियाको नाममा मनपरी भाडा असुल्न थालेको यात्रुको गुनासो छ ।

सङ्घका बसले उपत्यकामै पहिलोपटक न्यूनतम १३ रुपैयाँ भाडा र विद्यार्थी सहुलियत गर्दा हुन आउने न्यूनतम सात रुपैयाँको दूरीसहितको सूची टाँसेर प्रशंसनीय काम गरेको थियो । सिटी यातायात पनि कालोबजारियाका नाममा यात्रुसँग मनपरी भाडा असुल्नेमा अग्रस्थानमा रहेको उपभोक्ता मञ्च नेपालका मध्यमाञ्चल संयोजक रोशन पोखरेलले बताउनुभयो ।

“यो यातायातमा बागबजारस्थित भक्तपुर बसपार्क अगाडिको पेट्रोलपम्पमा तेल हालेपछि त्यसमै चढेर यात्रा गर्दा कालोबजारियासँग तेल किनेको भन्दै सरकारले तोकेभन्दा तीन गुणा बढी भाडा लियो, बा२ख ८७४४ नंको यो बसले ८० रुपैयाँमा तेल हालेको मैले देखेको थिएँ”–उहाँले भन्नुभयो ।

सिटी यातायातका बा.३ख ५६३५ र बा३ख ४९१७ नंका बसले पनि यात्रुसँग सके जति भाडा उठाइरहेका छन् । सार्वजनिक यातायातले लाममा बसेर ८० रुपैयाँमा तेल हाल्ने र कालोबजारियासँग तेल हालेको भन्दै सकेजति भाडा उठाउने क्रम उपत्यकामा बढ्दा पनि विभागले अनुगमन गर्नतिर ध्यान नदिएको मञ्चका पोखरेलले बताउनुभयो ।

विभागका निर्देशक नवीन पोखरेल कार्यालयमा भएका तीनवटै सवारीमा तेल सकिएकाले अनुगमन गर्न नसकिएको दाबी गर्नुहुन्छ । “सुरुमा नाकाबन्दीमा के अनुगमन गर्ने भनेर चुप बस्यौँ, तर पछि नाकाबन्दीका नाममा सार्वजनिक यातायातमा कालोबजारिया र मनपरीतन्त्र फस्टाएको सूचना पाएकाले अनुगमनको आवश्यकता महसुस गरिएको छ”–उहाँले भन्नुभयो ।

विभागको अनुगमन शाखा प्रमुख वसन्त अधिकारी १५ दिनदेखि बिदामा रहनुभएकाले पनि अनुगमन गर्न नसक्दा यातायातमा कालोबजारिया फस्टाएको उहाँले जानकारी दिनुभयो । यस सम्बन्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारी भाडा बढाउने निर्णय नभएकाले यसअघि सरकारले तोकेकै भाडादरमा सवारी सञ्चालन गरिनुपर्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “बढी भाडा लिने कमजोरी कतै भएको भए तिनलाई यसो नगर्न सम्झाउँछौँ, तेल कम पाइने र नाकाबन्दीले राष्ट्रिय सङ्कटका समयमा यात्रुलाई सास्ती नदिन आग्रह गरेका छौँ, अहिलेलाई भाडा वृद्धिको निर्णय पनि भएको छैन ।”

तपाइँको प्रतिक्रिया ।