खस राज्यमा नयाँ गुफा फेला

जुम्ला, ४ मङ्सिर । पर्यटकीय इतिहास बोकेको खस राज्यको राजधानी कर्णालीको सिंजा उपत्यकामा रहेको नाखेदुला गुफा हालसम्म ओझेलमा परेको छ ।

बाघको आँखा जस्तो अजङ्ग प्रकृतिको देखिने उक्त गुफालाई कसैले आँखेदुला भन्छन् भने कसैले बाघेदुला पनि भन्दै आएका छन् । कनकासुन्दरी गाविस वडा नं २, ३ र ४ वडाको ओखरपाटा गाउँमा अवस्थित यो गुफा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय शिक्षक जङ्गबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार गुफाको आकृति झट्ट हेर्दा नाकको प्वालजस्तो भएकाले सो गाउँका बूढापाकाहरुले नाकेदुला भन्दै आएका छन् । पर्यटकीय महत्वबाट गुमनाम भएको उक्त गुफा भएर पोरेपाखा, गोरुसिन, चुचेमारा हुँदै नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा तालसँग अवलोकन गर्न सकिने शिक्षक बुढाको भनाइ छ ।

सिंजा उपत्यकाको सेरोफेरोमा रहेका थुप्रै ऐतिहासिक, सांस्कृतिक एवम् प्राकृतिक धरोहरहरु (कनकासुन्दरी माईको मन्दिर, पाण्डवगुफा, विराट मन्दिर, देवस्थल, मुग्राधारा र देवलस्थलहरु) नियालेपश्चात् यो गुफाको सजिलै अवलोकन गर्न सकिने स्थानीयवासी पन्नलाल बुढा बताउनुहुन्छ । यो गुफामा भूतले खान्छ भन्ने डरले अहिलेसम्म भित्र कसैले प्रवेश नगरे पनि आफूहरुले प्रवेश गरेको उहाँले बताउनुभयो ।

बाहिरबाट हेर्दा गुफाको प्वाल सानो देखिए पनि भित्र प्रवेश गर्दा करिब पाँच मिटरसम्म उभिएर हिँडेको स्थानीयवासी युवा विष्णुबहादुर बुढाले बताउनुभयो । “सुरुमा भित्र केही छ कि भनेर ढुङ्गा हान्यौँ, गुफाको प्रवेशद्वारमा आगो बाल्यौँ, तर कुनै चाल नभएपछि हातमा लाइट बाली घस्रेर दूलोभित्र छि¥यौँ, भित्र त हेर्न लायकको फराकिलो भाग रहेछ” – विष्णुले भन्नुभयो ।

गुफाभित्र आकर्षक ढुङ्गाका मूर्तिहरु कुँदिएका छन् । मनले जे सोच्यो त्यही आकृतिका थाल कचौरा, हुक्का चिलिमजस्ता मूर्ति कुँदिएको स्थानीय बताउँछन् । राम्रा राम्रा मूर्तिहरु माओवादी द्वन्द्वकालमा हराएको उनीहरुको आशङ्का छ । सदरमुकाम खलङ्गाबाट पुग्न झन्डै एक दिन लाग्ने यो गुफा युगौँदेखि संरक्षणको पर्खाइमा रहेको छ ।

पछिल्लो चरणमा गुफा व्यवस्थापनका लागि स्थानीयवासीको पहल भइरहेको पनि शिक्षक बुढाले जानकारी दिनुभभयो । पर्यटनको अथाह महत्व बोकेको खस सम्राज्यको मुटुमा रहेको गुफाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरिदिन सो गाविसका स्थानीयवासीले प्रेस जगत् नेपाल सरकार तथा कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जुम्लालाई पनि आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।