ज्ञान चक्षु इङ्लिश स्कुल, बुढानिलकण्ठ–७ को SEE Facilitation Program सम्पन्न
कपन अनलाइन
काठमाडौं असार २३।
बुढानिलकण्ठ नगरपालिका–७ स्थित ज्ञान चक्षु इङ्लिश स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) सम्पन्न गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरेको “SEE Facilitation Program” भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, वडा नं. ७ का अध्यक्ष बसनारायण श्रेष्ठ, विद्यालयका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, मानसलु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, अभिभावक, शिक्षक, शिक्षा क्षेत्रका व्यक्तित्व तथा SEE उत्तीर्ण विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य SEE पछि विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि र भविष्यको लक्ष्यअनुसार उचित विषय तथा शैक्षिक संस्था छनोट गर्न सकून् भन्ने रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा करियर काउन्सिलिङ, उच्च शिक्षाको अवसर, समय व्यवस्थापन, व्यक्तित्व विकास तथा भविष्यका चुनौती र सम्भावनाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले शिक्षा नै समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गर्दै SEE जीवनको अन्तिम गन्तव्य नभई नयाँ यात्राको सुरुवात भएको बताए।
त्यस्तै वडा अध्यक्ष बसनारायण श्रेष्ठले विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गरेर अघि बढ्न आग्रह गर्दै शिक्षा नै जीवन परिवर्तनको सबैभन्दा बलियो माध्यम भएको बताए।
