ब्रिफकेश : शिवहरि अधिकारी (लघुकथा)
एक्कासी मोबाइलमा घण्टी बज्यो ।
“हेलो ! हेलो ! को बोल्नु भो” मन्त्रीले सोधे ।
“चिन्नु भएन हजुर !
“नयाँ नम्बर रहेछ, चिन्ह गाह्रो भो ।
“म उही तपाईंको शुभ चिन्तक, यो फोन यस्तै यस्तै काममा मात्र प्रयोग गरिन्छ मन्त्रीज्यू” दल बहादुरले भने ।
ए चिनिहालेँ नि, मेरो अन्नदाता, तपाईं नहुने हो भने त मेरो घरमा चुलो पनि बल्दैन नि !” मन्त्रीले फुरुंग पारे ।
“अस्ति कुरा भए अनुसार मैले हजुरको टेबुलमा ब्रिफकेश राखिदिएको छु । मेरो काम हुन्छ भन्ने कुरामा म ढुक्क छु हजुर ।”
“चिन्ता लिनु पर्दैन म आजै बस्ने क्याबिनेट बैठकवाट निर्णय गराइ हाल्छु” मन्त्रीले भने ।
मन्त्रीको टेबुलमा ब्रिफकेश भेटिएको हल्ला बैठकमा चर्चा भयो ।
मन्त्रीले खण्डन गर्दै भने “मेरो चरित्रको हत्या गर्ने काम भयो ।”
“छाडिदिनुस्, यो बकम्फुसे कुरा ! तपाईंको चरित्र भए पो चरित्रको हत्या हुन्छ । तपाईं त चित्र हो, चरित्र त पोलेर खाइसक्नु भो” दलवहादुरले भने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
