चार मुक्तक : शान्ता पौडेल भट्टराई

चार मुक्तक : शान्ता पौडेल भट्टराई
कपन अनलाइन
काठमाण्डौ, असार १४।

लाखौँ प्रयास गर्दा पनि बेमानी जाँदै गएन
के भनौँ, भन्दा नि जानी जानी जाँदै गएन
तिमीले त प्रिय, बिर्सिएको वर्षौ भइसक्यो,
मेरो त तिमीलाई सम्झिने बानी जाँदै गएन ।

को दुष्ट, छ अनि को भला कसरी बुझ्नु ?
शुभेच्छुकले नै थिच्छन् गला कसरी बुझ्नु ?
हात तान्छन् कहिले लडाउँछन् खुट्टा तानेर,
यी मान्छेको अनौठो चर्तिकला कसरी बुझ्नु ?

नपाऊँला माया सोचेजति, के फरक पर्ला ?
होला मेरो पागल झैँ दुर्गति, के फरक पर्ला ?
तिमीले छोड्दैमा मेरो सर्वस्व सकिने होइन
चस्स घोच्ला मुटु अलिकति, के फरक पर्ला ?

अरूबेला सुख्खा रहेका लोचनले पनि आँसु बगाउछन्
पीडामा रमाइलो मान्ने स्वजनले पनि आँसु बगाउछन्
पछिल्तिरबाट छुरा हान्ने जिउँदो हुँदा मात्रै हो मनुष्यले,
मरेको खबर पाएपछि दुश्मनले पनि आँसु बगाउछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।