प्रेतहरूको ताण्डव : भलादमी भोला (कविता )

प्रेतहरूको ताण्डव : भलादमी भोला (कविता )
कपन अनलाइन
काठमाण्डौ, असार १४।

एक हुल प्रेतहरूले
चिहान उदेले र
चारैतिर नियाले
कुनैले सहर पस्ने विचार राखे
कुनैले भिडमा छिर्ने उद्देश्य लिए
कोही जुलुसमा सहभागी भए
कोही आक्रमणको दाउ हेर्न थाले ।
उनीहरू छद्माभेसी बनेर
मानिसलाई दिग्भ्रमित बनाए
आफ्नो शक्तिको
चरम दुरुपयोग गर्दै
घर पसल तोडफोड गरी
आगो लगाए
सबै खाइ लाग्दा देखिन्थे
सफा सुग्घर सवारीमा हिँड्थे
महंगा होटलमा तास फिट्थे
अत्तर छर्कन्थे कालो चस्मा लगाउँथे
घरी लाहुरे जस्ता देखिन्थे
घरी चाउरे जस्ता देखिन्थे
दानी देखिन
अन्न बाँडे पैसा बाँडे
उनीहरूको कालो चस्माले
दुधलाई कालो देख्यो
दिनलाई अँध्यारो देख्यो
विकासलाई विनाश देख्यो
उनीहरूले अरुका कुरा सुन्न सकेनन्
कान थुनेर हिँड्न पनि सकेनन्
सबै विपरीत देखेपछि
उनीहरूलाई खपि नसक्नु भो
उनीहरूले चिहान मै भएको सम्झे
नाच्ने नाउँमा गाउने नाउँमा
जुलुस निकाल्ने नाउँमा
उनीहरूले निहत्थाको भाग खोसे ।
लुटे कुटे
सर्वस्व विनाश गरेपछि
उनीहरू नयाँ चिहान बनाउन खोज्दैछन्
जहाँ उनीहरूलाई
कसैले भेट्न नसकोस्
कसैले लखेट्न नसकोस्
कोहीसँग भाग्नु नपरोस्
कसैको पाउमा पर्नु नपरोस् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।