कहाँ होला प्रिय मान्छे ? लोचन ‘फूलको थुँगा’

कहाँ होला प्रिय मान्छे ?  लोचन ‘फूलको थुँगा’

कपन अनलाइन

काठमाण्डौ,असार ६।

अद्भुत शक्तिवान्
तर अदृश्य छ
यो माया
जसलाई
न छुन सकिन्छ
न देख्न नै
जसको
न आकार छ
न वजन नै
आकारमा
आकाश ढाक्छ
वजनमा
पूरै ब्रह्माण्ड
हृदयबाट निस्केर
मस्तिष्कसँग सम्बन्ध राख्छ
न खोजेर भेटिन्छ
न चाहेर पाइन्छ
न रूप छ
न रङ्ग
तर पनि शक्तिवान् छ
मुटुसँगै धड्किरहन्छ
जलन
र आगो हो माया
अनि भोगाइ
र बुझाइ पनि
क्षणमै हँसाउने
क्षणमै रुवाउने
सामथ्र्य राख्छ
तर कसैलाई
दुखी नबनाई
खुसी बटुल्नु हो
माया
माया नै धर्म हो
शक्ति हो
अनि माया नै
शान्ति हो
मायाको
न कुनै सीमा छ
न कुनै समय !
न छेकेर छेकिन्छ
न रोकेर रोकिन्छ
यो सर्वोपरि छ
सर्वत्र छ
संसारै मायामा अडेको छ
माया दर्शाउने शैलीहरू
फरक हुन सक्छन्
नाता
र सम्बन्ध फरक हुन सक्छन्
आवश्यकता
र रोजाइहरू
बाझिन सक्लान्
तर बाझिँदैनन्
मायाका अनुभूतिहरू
जोखिँदैनन्
मायाका महसुसहरू
न यसलाई
नाप्न सकिन्छ
न तौलन पनि
विश्वास
र भरोशाका बाँधहरूमा
नअल्झेको माया
घृणा
र बदलाका
आवेशमा तैरिन पुग्छ
त्यसैले
मायामा तड्पिन्छन्
छटपटाइ
र ज्वालामा पिल्सिन्छन्
जहाँ माया हुन्छ
त्यहाँ घृणा
तिरस्कारको
उपस्थितिको
सम्भावना उत्तिकै रहन्छ
माया कोमल हुन्छ
संवेदनशील पनि हुन्छ
मात्र
खाँचो हुनु पर्छ
निस्वार्थीपनको
स्वार्थरूपी माया
माया होइन
अपमान हो
अपराध हो ।
हामी
जानेर होस्
या नजानेरै
माया गरिरहेका हुन्छौँ
फुलेको फूलमा होइन
काँडामा पनि छ माया
र पो
काँडाबिचमै
गुलाफ फक्रिरहेको छ
कहीँ
स्वादमा फेरिन्छ
कहीँ
मोहमा बेरिन्छ
कहीँ
सुखमा अल्झिन्छ
कहीँ
दुःखमा बल्झिन्छ
कहीँ
हारमा छ माया
कहीँ
जीतमा
समर्पण
यसको
अर्को नाम हो
तर हिजोआज
मैले माया गरेकोे
मान्छे बेखबर छ
गुमनाम छ
कहाँ हो खै
त्यो मेरो
प्रिय मान्छे
कहाँ होला ??

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।