महेन्द्रनगर : शम्भु प्रकृति (कथा)
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३।
महेन्द्रनगर बजार राजा महेन्द्रले बसाएको हुनाले त्यसको नामाकरण उनकै नामबाट हुन गयो । हाल त्यसलाई सहिद भिमदत्त पन्तको स्मृतिमा नामाकर भिमदत्तनगर भनिन्छ । हालसालै द्वन्दकालमा तोडफोड गरिएको राजा महेन्द्रको सालिक स्थानीय जनताको सहयोगमा पुनःस्थापन गरिएको छ । इतिहास मार्न सकिने कुरा होइन । कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर । मेरो पहिलोपटक महेन्द्रनगरको यात्रामा थुप्रै अविस्मरणीय पलहरू छन् ।
दिनभरी महेन्द्रनगर घुम्दा स्थानीय युवाहरूसङ्ग वार्तालाप हुँदा उनीहरू भन्थे–“हामीहरूले यहाँ प्याराफिट बनाएका छौं खेलकुदको लागि ।” देशमा भर्खर द्वन्दकाल सकिएर माओवादीहरूले शान्तिपूर्ण अवतरण गरेका थिए । त्यो पुर्ण भैसकेको थिएन । देशमा दोहोरो सत्ता कायमै थियो । साँझ परेपछि त्यहीँ गएर आराम गरेँ छाता ओढेर । रातभरी पानी परिरहेको छ । महेन्द्रनगर आएदेखिनै झमझम पानी परिरहेकै थियो । रातको ११ बजेतिर बाहिरबाट आवाज आयो –“को छ त्यहाँ ?” मैले जवाफ दिएँ – “म हो ।” “को म ? बाहिर आइज ।” म आवाजलाई पछ्याएर अघि बढें । त्यहाँ सशस्त्र प्रहरीको पोस्ट रहेछ । प्रहरीले मलाई हप्काएर सोध्यो –“त्यहाँ किन बसेको ?” मैले भने – “कहाँ बस्ने त ?” उसले भन्यो –“बसपार्कतिर गएर बस ।” उसको सल्लाह ठिक लाग्यो र महेन्द्रनगर बसपार्कमा गएर बसें । बसपार्कमा कसैले पनि बाधा दिएन । आनन्दले रेस्ट गरें ।
बसपार्कमा होटेल चलाएर बस्ने एकजना सज्जन जयमोहन गिरीसङ्ग भेट भयो । उहाँले मेरो अवस्था देखेर सहयोग गर्न अघि सर्नुभयो जसलाई मैले इन्कार गर्न सकिन । उहाँले भन्नुभयो –“मेरो नाम जयमोहन गिरी र मेरो होटेल सुरमा होटेल । तपाईंलाई हार्दिक स्वागत छ हिड्नुस ।” म उहाँको पछि हिडें । त्यहाँ दुईदिनसम्म मेरो खातिरदारी गर्नुभयो बिहान बेलुका नै । सुत्नको लागि मैले अरु ३ जना भएको कोठामै उनीहरूसङ्ग रात बिताएँ । उहाँले सस्तोमा रुम दिएर अरुसङ्ग शेयर गराउनेपनि गर्नुहुन्थ्यो कतिपयलाई । त्यो होटेल चलाउने राम्रो उपाय थियो भने कसैलाई सहयोग पनि हुने । मैले पनि नयाँ साथीहरू भेटें । उनीहरूसङ्ग कुरा गर्दा समय सजिलै बित्यो ।
जयमोहन दाइले भन्नुभयो–“सर तपाईं कसरी काठमाडौं फर्कनुहुन्छ त ?” मैले भने – “खोइ दाजु ।” उहाँले भन्नुभयो –“म व्यवस्था गर्छु । यहाँ नजिकै माओवादी जिल्ला जनसरकारको कार्यालय छ । म कुरा गर्छु ।” त्यसमा मलाई त्यति रुचि थिएन । मैले भने –“अरु कुनै व्यवस्था हुन्छ कि दाइ ?” उहाँले भन्नु भो –“म प्रयास गर्छु । बसवालालाई भन्नुपर्छ । मिल्न सक्छ । तपाईं पनि प्रयास गर्नु है ।” मैले भने –“हवस !”
भोलिपल्ट हामी बसपार्क गएर लिफ्टको लागि बसवालाहरूसङ्ग कुरा ग¥र्यांै । एकजना साहु राजी भयो मलाई काठमाडौंसम्म छोड्नको लागि । निकै खुशी लाग्यो ।जयमोहन दाजुलाई हार्दिक धन्यवाद ज्ञापन गरेर उहाँको सम्पर्क नम्बर लिएर बिदावारी भएँ । नाइट बस भएकोले साँझमा बस चढेर अगाडि बढ्दै थियौं । अचानक कर्णाली पुल नजीक एक ठाँउमा बाटो भास्सिएछ बर्षाले गर्दा । बस त्यहीँसम्म रोकिएर त्यो बसबाट सबैजना यात्री ओर्लिएर अस्थायी कलभर्ट पार गरेर अर्को बसमा चढ्नुपर्ने भयो टिकट दिएर । मलाई आपत प¥यो । म त लिफ्ट मागेर चढेको हुनाले मसङ्ग टिकट हुने कुरै भएन । नयाँ बसको साहुलाई अनुरोध गरेर आफ्नो सबैकुरा बताएपछी ऊ मलाई मुढामा राखेर लैजान राजी भयो ।
नयाँ गाडीमा चढेर हामी काठमाडौं आउँदा बाटोमा कोहलपुरमा रोक्दा एकजना गाइने निकै परसम्म सारङ्गीको तालमा गाउँदै यात्रीहरूसङ्ग पैसा माग्यो । म सङ्ग पनि माग्यो तर पैसा नभएकोले दिन सकिन । एकजना दक्षिण कोरियाली पर्यटक महेन्द्रनगरदेखि साथै चढेको थियो । यात्रा अवधिभर ऊ मेरो राम्रो साथी भयो । अङ्रेजीमा कुरा गर्दै उसले सोध्यो–“ व्हेर इज द चिपेस्ट होटेल इन काठमाण्डु ?” मैले जवाफ दिएँ –“यु क्यान फाइन्ड एनीव्हेर । प्लिज गो नियरबाइ सुन्धारा ।” उसले सहमती जनायो । उसले धेरै कुराहरू नेपालको बारेमा सोध्न थाल्यो । झण्डै रातभरी उसङ्ग मै अङ्ग्रेजीमा वार्तलाप ग¥यो । १८ घन्टाको यात्रामा सायद ऊ मसङ्ग सन्तुष्ट भयो ।
बिहान ९ बजेतिर म कलङ्कीमा ओर्लिएर आफ्नो बाटो लागें अर्थात आफ्नो घरतिर ११ दिनका दिन । त्यो पर्यटक पनि सुन्धारातिर लाग्यो सायद। फेरि महेन्द्रनगर जान पाएको छैन । तर यादहरू ताजा छन् सधैँभरीलाई ।
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
