गजल : मदनराज थापा
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २३।
बल्दैनथ्यो चूल्हो यो, यदि पसिनाको धारा नहुँदो हो
अँध्यारो हुन्थ्यो जीवन, यदि आशाको तारा नहुँदो हो ।
मुस्कुराउँथे होलान् ओठहरू, सधैँ खुसी छाउँथ्यो कि
विपत्तिमा सम्हाल्ने, यदि मनको सहारा नहुँदो हो ।
सजाउँथे होलान् सबैले, आफ्नै रहरका दरबारहरू ।
हुन्नथ्यो अस्तित्व महलको यदि झुपडी सारा नहुँदो हो ।
बाँचिरहेका हामी सबै, आफ्नै स्वाभिमानको ओत लागी ।
बिकिसक्थ्यो इमान यो यदि आत्मसम्मान प्यारा नहुँदो हो ।
हराउँथ्यौ कि तिमी पनि, समयको यो भीडमा ‘मदन’
पाइन्थ्यो र यो पहिचान, यदि चोटहरूको किनारा नहुँदो हो ।
सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
