डोयन बनिन् सिएनएन हिरो
काठमाडौँ, २ मङ्सिर । समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विश्वका चर्चित व्यक्तिलाई प्रदान गरिने ‘सिएनएन हिरो अवार्ड’ यस वर्ष नेपाललाई आफ्नो कर्म थलो बनाउनुभएकी अमेरिकी नागरिक म्यागी डोयनले जित्नुभएको छ ।
मङ्गलबार न्यूयोर्कमा भएको एक कार्यक्रममा उहाँलाई सो अवार्डद्वारा सम्मान गरिएको हो । दश वर्षदेखि नेपालमा रहेर उहाँले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आई रहनुभएको छ ।
विशेष गरी उहाँले मध्यपश्चिमका टुहुरा असहाय सडक बालबालिकालाई आवाससहितको शिक्षा दिन सहयोग गर्दै आउनुभएको छ ।
मध्यपश्चिमका एक युवतीसँगको भेटपछि उहाँको जीवनले महत्वपूर्ण मोड लियो ।
“त्यहाँ सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका गिट्टी कुटिरहेको देखेपछि ममा बालबालिकाको क्षेत्रमा केही काम गर्ने सोच पैदा भयो” – उहाँले भन्नुभयो । सन् २००६ देखि सुर्खेतमा कोपिला भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याई डोयनले ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकालाई आश्रय दिइरहनुभएको छ ।
यस्तै उहाँद्वारा सन् २०१० मा स्थापित ब्लिनो फाउन्डेसनले सञ्चालनमा ल्याएको कोपिला भ्याली विद्यालयमा अहिले ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
अवार्ड पाइसकेपछि उहाँले भन्नुभयो, “म जब अठार वर्षको उमेरमा टेक्दै थिएँ, त्यतिबेलासम्म ५० बच्चाकी आमा भइसकेकी थिएँ । म आफ्ना बच्चालाई असाध्यै माया गर्छु । अनि नेपाललाई पनि धन्यवाद दिन चाहन्छु मलाई माया गरी आफ्नी छोरीको रुपमा स्वीकार गरेकामा ।”
उहाँले अवार्डसँगै एक लाख अमेरिकी डलर प्राप्त गर्नुभएको छ । विश्वका दश उत्कृष्ट समाजसेवीमध्ये अनलाइन भोटिङ्मार्फत उहाँ यस वर्षको सिएनएन हिरो छानिनुभएको हो ।
उत्कृष्ट दशमा पर्न सफल सबैले उक्त समारोहमा कसरी आफूहरु समाजसेवामा लाग्न उत्प्रेरित भए भन्ने अनुभव सुनाएका थिए । उत्कृष्ट दशमा परेसँगै उनीहरुले दश हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।
यसअघि नेपालका समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पनि सिएनएन हिरो अवार्ड जितिसक्नुभएको छ ।