पुस्ता नयाँ शृङ्खला : वासुदेव पौड्याल (भद्र)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
भ्रष्टाचार सफा सुशासन रहोस् आशा निराशा नहोस्
नेपाली जनहित राष्ट्र जित होस् सर्वोच्च सत्ता रहोस् ।
संवैधानिक कष्ट होस् सहजता बाधा नहोस् कार्यमा
मन्त्रीमण्डल कार्यनिष्ठ शुभ होस् पुस्ता नयाँ नाममा ।।
वाचा बोल करार नागरिकका पूरा हवस् घोषणा
पूर्वाधार सुदूर सर्व सजिलो उद्योग स्वदेशमा ।
निष्ठा न्याय विवेकशील क्षमता कर्तव्य दायित्वमा
सम्झौता सहकार्यमा अनुभवी मैत्री बढोस् बिश्वमा ।।
प्यासी भोक अस्वस्थ दुर्ग अवला आधार आस्था रहोस्
नेपाली जनता सचेत क्षमता बिश्वास धोका नहोस् ।
आमा रोदन छिन् खराव मनका स्वार्थी घमण्डी बढे
पीडा आँसु पुछाउनी क्रमिकमा भारी जना देशले ।।
आफ्नै देश सुयोग्य कर्म थल होस् संसारमा शान होस्
नेपाली शिर उच्च शान्ति धरती हिंसा समस्या नहोस् ।
पेशा होइन राजनीति पथ यो हो योग्य दानी कला
आशा केन्द्र सदावहार भरिलो पुस्ता नयाँ शृङ्खला ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
