किसान नेता : शम्भु प्रकृति (कथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
सिन्धुपाल्चोक मेलम्ची नगरका एकजना किसान नेता पाण्डेजी । बानेश्वरमा दुःखसुखले घर बनाउनुभएको थियो । मसङ्ग राम्रो हिमचिम थियो उहाँको । हामी सङ्गै एउटै दलमा लागेका थियौं त्योपनि पुरानो दलमा । उमेर र अनुभवमा मभन्दा उहाँ सिनियर । बानेश्वरमा आफ्नै बोर्डिङ स्कुलसमेत चलाउनुभएको थियो उहाँले । बडो उद्यमशील हुनुहुन्थ्यो उहाँ । व्यवस्थापन पढेकोले उहाँ एकजना लेखापरीक्षकपनि हुनुहुन्थ्यो । उहाँको आफ्नै लेखापरीक्षण फर्म थियो एकल व्यवसायमा दर्ता गरेको । उहाँले सरकारी जागिर र सरकारी नियुक्तिमा पनि काम गर्नुभयो । पार्टीको र मेरैपनी संस्थाको लेखापरीक्षण सुलभ मुल्यमा उहाँले गरिदिनुभएको थियो ।
उहाँको मेलम्चीको घर नगएपनी बानेश्वरको घरभने गएको छु । कारण उहाँको घर मेरो घरनजिक थियो । मेरै घरमा पनि उहाँले आउजाउ गर्नुभएको थियो । उहाँसङ्ग तीनवटा दलहरूमा सङ्गै काम गरियो । एउटा दलको नाम त उहाँले नै जुराउनुभएको थियो । वास्तवमा उहाँ किसान र श्रमजीवी जनताको नेता । दलको तर्फबाट चुनावमा पनि उठ्नुभयो । उखानतुक्का र श्लोकहरूको धनी हुनुहुन्थ्यो । कुरैपिच्छे श्लोकहरू जोडने र ठट्टा गर्नेपनी गर्नुहुन्थ्यो । पार्टीका नेताहरूले उहाँको फाइदा उठाए । उहाँ भन्नुहुन्थ्यो – “कमरेड ! जागीरे जिवनले केही हुँदैन । उद्योग गर्नुपर्छ । मैले मेलम्चीमा माछापालन गरेर आँप, कटहर लगायत फलफूल खेती गरेको छु कृषिविकास बैंकबाट ऋण लिएर ।” उहाँ ऋणमा चुर्लुम्म हुनुहुन्थ्यो सायद ।
उहाँको र मेरो नाम एउटै थियो थरमात्र फरक । हाम्रो कुरा मिल्थ्यो । उहाँको छोराहरू मेरो उमेरका । मलाई बडो स्नेह गर्नुहुन्थ्यो । पार्टीमा मेरोपनि नेता भएकोले मैले उहाँको सम्मान गर्थें । मेरो र उहाँको लाइन उही थियो शोषितपीडित श्रमजीवी जनताको पक्षमा काम गर्ने । उहाँ अखिल नेपाल किसान महासङ्घको उपाध्यक्ष भएर सर्बोच्च अदालतमा किसानहरूको तर्फबाट रिट दायर गर्नुभएको थियो, जुन रिटको कागज उहाँले सधैं देखाउने गर्नुहुन्थ्यो । उहाँले रिटमा कुनैपनी सत्ताधारी दलहरूले किसानको पक्षमा काम गरेनन् भनेर आरोप लगाउनुभएको थियो । त्यो तर्कबाट प्रभावित भएर रिटको बारेमा आफ्नो बिचार राख्दै तत्कालीन प्रधानन्यायाधीशले उहाँलाई –“ओहो ! तपाईं त ठुलो नेता पो हुनुहुदों रहेछ । आजसम्म यस्तो कुरा कसैले अदालतमा उठाएको थियन ।” भने भनेर उहाँले पछिसम्म भन्नुहुन्थ्यो ।
एउटा किसानको छोरा भएर किसान आन्दोलनलाई अगाडि बढाउने पाण्डेजी एउटा प्रगतिशील किसान हुनुहुन्थ्यो । उहाँले किसान संगठन र कम्युनिस्ट पार्टी दुबैको बीउ रोप्नुभयो । समाजलाई ठुलो गुन लगाउनु भयो । उहाँको मेलम्चीकै अर्का पाण्डे विद्यार्थी तथा शिक्षक नेता उहाँका आलोचक थिए । उनले सही आलोचना गर्थेकी गर्दैनथे त्यो त थाहा भएन । उहाँकै नजिकका अर्का विद्यार्थी नेता व्यापारी थिए लगभग उहाँकै पदचापमा हिड्ने पार्टीलाई सहयोग गर्ने । सबै उहाँको छोराको उमेरका ।
जीवनभर श्रम गर्दागर्दै निकै निराश भएर पाण्डेजी अस्पतालको शैयामा गम्भीर बिरामी भएको थाहा भएरपनि भेट्न् जान सकिएन । जाउँला भन्दाभन्दै उहाँ बित्नुभएछ २०७५ भदौमा । त्यो कुराको सधैं थकथकी लागिरह्यो पछिसम्मपनि । सायद उहाँले हामीहरूलाई धेरै सम्झनुभयो म र मेरो नेता मधु कमरेडलाई । मधु कमरेड पनि अहिले प्यारालाईसिस हुनुभएको छ कोरोनाकाल २०७७ असोजमा । पाण्डेजी बित्नुभएको एक बर्षमा । सबै इतिहास भैसकेका छन् ।
एउटा संघर्षशील किसानको कसरी अन्त्य हुन्छ त्यो उहाँले देखाउनु भएको छ । बहुसंख्यक जनता किसान रहेको कृषिप्रधान देश नेपालमा किसानहरूको उत्थान नगरेसम्म देशको उत्थान हुँदैन । पाण्डेजीको सपना त्यही थियो र हाम्रो सपना पनि त्यही छ अब । एउटा किसान भएर बाच्नु छ जुनसुकै रूपमा भएपनि । यो नै सच्चा श्रद्धाञ्जली हुनेछ उहाँप्रती र वास्तविक न्याय पनि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
