पार्टी पुनर्गठन र ‘नवीन काँग्रेस’ का लागि विशेष महाधिवेशनको अपरिहार्यता : बिजेन्द्र श्रेष्ठ

पार्टी पुनर्गठन र ‘नवीन काँग्रेस’ का लागि विशेष महाधिवेशनको अपरिहार्यता : बिजेन्द्र श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,पुस २२।

नेपाली काँग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको आधारस्तम्भ हो। राणा शासनविरुद्धको संघर्षदेखि संविधानसभा सम्मको यात्रामा काँग्रेसले लोकतन्त्र, मानवअधिकार र जनताको सार्वभौमिकताको पक्षमा निरन्तर नेतृत्व गरेको छ। यही ऐतिहासिक जिम्मेवारीका कारण काँग्रेस सधैं परिवर्तनशील समयसँग आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्ने पार्टी हो। आज नेपाली काँग्रेस यस्तो मोडमा उभिएको छ जहाँ आत्मसमीक्षा, पुनर्संरचना र पुनर्जागरण अपरिहार्य बनेका छन्। यही सन्दर्भमा ‘विशेष महाधिवेशन’ पार्टीको संकट होइन, समाधानको ढोका हो।

आजको बहस केवल प्रक्रिया सम्बन्धी होइन; यो काँग्रेसको भविष्य, यसको लोकतान्त्रिक आत्मा र जनतासँगको सम्बन्ध पुनःस्थापना गर्ने प्रश्न हो। विशेष महाधिवेशनको माग केवल केही व्यक्तिको चाहना होइन  यो पार्टीभित्रको गहिरो असन्तोष, दिशाहीनताको अनुभूति र सुधारको आकांक्षाको अभिव्यक्ति हो।

. विधान: पार्टीको आत्मा मार्गदर्शक

देश संविधानले चले जस्तै पार्टी विधानले चल्छ। कुनै पनि लोकतान्त्रिक संस्थाको जीवनरेखा त्यसको विधान हो। नेपाली काँग्रेसको विधान पार्टीको मेरुदण्ड र आत्मा हो। नेपाली काँग्रेसको विधानको धारा १७(२) ले स्पष्ट व्यवस्था गरेको छ कि  यदि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बिशेष कारण खुलाई बिशेष महाधिवेशन लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ। हाल ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको हस्ताक्षरसहित माग दर्ता भइसकेको अवस्था छ। यस्तो अवस्थामा विशेष महाधिवेशन नबोलाउनु विधानको उल्लंघन मात्र होइन, पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथिको आघात पनि हो।

विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहन्छ र आवश्यक परेमा विशेष महाधिवेशन आह्वान गर्ने प्रशासनिक अधिकार पनि त्यही संरचनासँग छ। त्यसैले “प्राविधिक कठिनाइ”, “समय छैन” वा “परिस्थिति उपयुक्त छैन” जस्ता तर्कहरूले विधानलाई विस्थापित गर्न सक्दैनन्।

यदि काँग्रेस पार्टीले आफ्नै विधानको पालना गर्न सक्दैन भने देशलाई संविधान पालना गर्न प्रेरित गर्ने नैतिक हैसियत पनि कमजोर बन्छ।

. बहुमतको आवाज लोकतान्त्रिक मर्यादा

लोकतन्त्रको आधारभूत सिद्धान्त हो — बहुमतको निर्णय मान्ने र अल्पमतको सम्मान गर्ने। नेपाली काँग्रेस सधैं यही मूल्यको वाहक रहँदै आएको छ। तर आज करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेको विषयलाई सम्बोधन नगर्नु गम्भीर विरोधाभास हो।

यदि बहुमतले पार्टीको दिशा सुधार गर्न खोज्दैछ भने त्यसलाई सुन्नु, बहस गर्नु र संस्थागत प्रक्रिया मार्फत समाधान खोज्नु नै लोकतान्त्रिक आचरण हो। बहुमतको आवाजलाई दबाउने होइन, व्यवस्थापन गर्ने क्षमता नै पार्टीको परिपक्वता हो।

. विशेष महाधिवेशन: विभाजन कि सुदृढीकरण?

यथास्थितिवादीहरुले विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने भ्रम फैलाईरहेका छन्। तर इतिहासले देखाएको कुरा के हो भने आन्तरिक लोकतन्त्रले पार्टी फुटाएको छैन; बरु अधिनायकवादी प्रवृत्तिले पार्टी कमजोर बनाएको छ। विधान पालना गर्दा विग्रह हैन पार्टी बलियो हुन्छ। चुनाव पछिको अधिवेशन लगन पछिको पोते जस्तै हुन्छ। नियमित महाधिवेशनको बिकल्प बिशेष महाधिवेशन हो। चुनावी तयारीका लागी पनि बिशेष अधिवेशन अपरिहार्य छ।

. इतिहासबाट सिक्ने कि बेवास्ता गर्ने?

नेपाली काँग्रेसको लागी बिशेष अधिवेशन नौलो बिषय हैन। २०१४ सालको बिषम परिस्थितिमा सुवर्ण शम्शेरले विशेष महाधिवेशन गरी बी.पी. कोइरालालाई सभापति बनाएका थिए। त्यसपछि काँग्रेसले जनविश्वास जित्यो र दुई तिहाइ बहुमत ल्यायो।

आज पनि परिस्थिति उस्तै छ  जनतामा निराशा छ, पार्टीप्रति भरोसा घटेको छ, कार्यकर्तामा ऊर्जा कमजोर भएको छ। यस्ता बेला आन्तरिक सुधार नै बाह्य विजयको आधार हो। आज ईतिहास दोहोर्याउने सुवर्ण अवसर छ। बिशेष महाधिवेशन गरी नंया नेतृत्वमा नंया संकल्पका साथ चुनावमा गए नेपाली काँग्रेस जनताको रोजाईको पार्टी बन्ने छ।

. चुनावी तयारी संगठनात्मक पुनर्संरचना

बिगतबाट पाठ सिकेर नेपाली काँग्रेसले २०८० फागुनको गोदावरी महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने निर्णय गरेको थियो। यसको अर्थ काँग्रेस अब आफ्नै शक्तिमा चुनाव लड्नेछ। त्यसका लागि बलियो संगठन, स्पष्ट नेतृत्व र विश्वसनीय कार्यदिशा चाहिन्छ।अहिले फेरी नेतृत्व वर्गले आफैले गरेका निर्णय बिपरीत गठबन्धनको तयारी गरिरहेका छन्। कार्यकर्ताहरुले आफ्नै रुख चिन्हमा मत हाल्ने बनाउनको लागी पनि विशेष महाधिवेशन अपरिहार्य छ।

. काँग्रेस सच्चिने कि सकिने?

आज काँग्रेस दोबाटोमा उभिरहेको छ। एउटा बाटो सुधार, आत्मालोचना र पुनर्जागरणतर्फ जान्छ। अर्को बाटो जडता, टालटुल र क्रमशः पतनतर्फ जान्छ। पहिलो बाटो हिड्न चाहनेहरु बिशेष महाधिवेशनको पक्षमा छन् भने दोस्रो बाटो हिड्न चाहनेहरु बिशेष महाधिवशनको बिपक्षमा छन्। कालान्तरमा सबैको हिसाबकिताब ईतिहासले गर्नेछ। विधि र विधान भन्दा माथी कोहि छैन। विधान नमान्ने कसैलाई छुट छैन। यो व्यक्तिको जितहारको विषय होइन; यो पार्टीको भविष्य र देशको लोकतान्त्रिक यात्रासँग जोडिएको बिषय हो।

निष्कर्ष

विशेष महाधिवेशन काँग्रेसको संकट होइन समाधान हो। यो कमजोरीको संकेत पनि होइन यो त परिपक्वताको प्रमाण हो। यो विभाजनको खतरा होइन यो एकताको आधार हो।

आज निर्णय गर्ने घडी आएको छ। इतिहासले हेर्दैछ, कार्यकर्ताले पर्खिरहेका छन् र जनताले आशा राखेका छन्।

काँग्रेस सच्चिने कि सकिने? निर्णय आजै हुनुपर्छ  विधान, लोकतन्त्र र इतिहासको पक्षमा।

( लेखक श्रेष्ठ नेपाली कांग्रेस  बुढानीलकण्ठ नगरपालिका नगर  समितिका सचिव हुन् )

 

तपाइँको प्रतिक्रिया ।