ललितपुर महानगरपालिकाको वडा नं ८ लाई टिम स्वर्ण

ललितपुर महानगरपालिकाको वडा नं  ८ लाई टिम स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,पुस २२।

वडा ८ ले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको लेडिज टिम इभेन्टमा स्वर्ण जितको छ ।
ललितपुर महानगरपालिका वडा ६ को आयोजनामा कनिबहालमा भइरहेको प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा वडा ८ का सुरम्य शाक्य र सम्पदा श्रेष्ठले वडा १७ का साहोदर दिदीबहिनी अर्पिता र अर्सना महर्जनलाई ३–२ ले पराजित गरी स्वर्ण जिते ।
पहिलो सिंगल्समा सुरम्यले अर्पितालाई ११–५, ११–७, ७–११ र ११–४ ले पराजित गरिन् । दोश्रो सिंगल्समा अर्सनाले सम्पदालाई ९–११, ११–४, १२–१० र ११–५ ले हराइन् । डबल्समा सुरम्य र सम्पदाको जोडीले अर्पिता र अर्सनाको जोडीलाई ९–११, ११–४, ११–५, ७–११ र ११–८ को सेटमा हराउदै २–१ को अग्रता लिए । तेश्रो सिंगल्समा अर्सनाले सुरम्यलाई ११–९, ११–२, ६–११ र १६–१४ ले पाखा लगाएपछि खेल २–२ को बराबरीमा पुगेको थियो । निर्णायक पाँचौं सिंगल्समा सम्पदाले अर्पितालाई ७–११, ११–७, ९–११, ११–८ र ११–८ ले आफ्नो पक्षमा पारिन् । वडा १९ र १६ तेश्रो भए ।
पुरुष टिम इभेन्टमा वडा ७ पहिलो भयो । यो टोलीमा एलेक्स महर्जन, डिकेन महर्जन, एलेन महर्जन, निकेश जोशी र मिजेन शाक्य छन् ।
प्रतियोगिताको उद्घाटन अवसरमा गत अगष्टमा माल्दिभ्समा भएको प्रथम थोडु मास्टर्स अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा राजेन्द्र कपालीले १ स्वर्ण र २ रजत, सुरज वज्राचार्यले २ रजत र १ कांस्य, धनबहादुर महर्जनले १ रजत, पूर्णशंकर श्रेष्ठले १ कांस्य र सानु महर्जनले १ कांस्य पदक जितेका थिए । उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

तपाइँको प्रतिक्रिया ।