चार मुक्तक : संगीता सारथि
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २८।
मुक्तक १
सम्झिएर तिमीलाई मनभरि खुशी छायो
पीर ब्यथा सबै हटि मनले अति शान्ति पायो
कहिलेकाहीँ त भेट हाम्रो हुने गथ्र्यो सपनीमा,
टोलाएर एकोहोरिदा फेरि तिम्रो याद आयो ।
मुक्तक २
साहित्य संगीतले सधैँ यो मन तानेको छ
यसैमा खुशी मिल्छ भन्ने मनले जानेको छ
हिम्मत हौसला बढाउने सारथि तिमी मेरो,
जीवनको सच्चा मित्र यो मनले मानेको छ ।
मुक्तक ३
युवाका कति जायज मागहरु परपर सार्दै रहे
बिनास निम्त्याउँदै देशलाई शंकटमा पार्दै रहे
देश घाती षड्यन्त्रकारीहरुको छल कहिले सम्म,
दुर्भाग्य हत्याराले गोली ठोके युवालाई मार्दै रहे ।
मुक्तक ४
कहिले मानको कहिले अपमानको रस पिउँदैछु
मिति नसकिएरै होला नाफाको जिन्दगी जिउँदैछु
तनाब,सकसले मन मुटु चर्किएर दुख्छ नि जब,
फाटेको मनलाई धैर्यताको सियोधागोले सिउँदैछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
