८ वर्षमा टोखा नगरपालिकाले गर्यो कायापलट, सडकदेखि स्वास्थ्यसम्म यस्ता छन् उपलब्धि

८ वर्षमा टोखा नगरपालिकाले गर्यो कायापलट, सडकदेखि स्वास्थ्यसम्म यस्ता छन् उपलब्धि

कपन अनलाइन

काठमाडौं ,मंसिर १७ ।

काठमाडौंको टोखा नगरपालिकाले १२ औँ स्थापना दिवस मनाएको छ । नगरपालिकाको सभा हलमा मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । ११ वर्ष पार गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आफ्नो दुई कार्यकालमा साथ दिने सबैप्रति आभार व्यक्त गरे । अधिकारीले पहिलो पटक २०७४ साल वैशाखमा आफू निर्वाचित हुनुअघि टोखाका हरेक सडक हिलाम्मे हुने गरेको स्मरण गरे । वडा नम्बर १ देखि ११ सम्म नै हिलो टेकेर हिँड्नुपर्ने अवस्थाबाट अहिले धेरै परिवर्तन गरेको उनले बताए।

शिक्षा क्षेत्रमा सुधार गरेको दाबी गर्दै उनले विद्यालयको भौतिक संरचनामा धेरै परिवर्तन गरेको नगर प्रमुख अधिकारीको भनाइ छ । नगरपालिकाले सामुदायिक विद्यालयको अस्तव्यस्ततालाई अन्त्य गरेको बताए । सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सफल भएको दाबी गरे । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरे पनि आफूहरुले कक्षा १० सम्म नै खाजा खुवाउने गरेको अधिकारीले बताए । जनसमुदायको प्रेरणा, साथ र सहयोगले नै परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले कतिपय काम अझै गर्न बाँकी रहेको बताए । स्वमूल्याङ्कनमा काठमाडौं जिल्लाका पालिकामध्ये टोखा दोस्रो स्थानमा पर्न सफल भएको पनि उनले जानकारी दिए । केही समस्या छन् भने जानकारी गराउन आग्रह गर्दै उनले समाधान गर्दै जाने प्रतिबद्धता जनाए ।

आफूलाई जनताले २४ सै घण्टा भेट्न पाउने उल्लेख गर्दै उनले भेटेर वा फोनमार्फत पनि समस्या राख्न पाउने बताए । “टोखा हाम्रो गौरव हो, प्रतिष्ठा हो । टोखाको जनतालाई खुशी बनाउने अर्जुनदृष्टी बोकेर हिँडेको छु ।” उनले भने । सडक बत्तीको समस्याबारे स्थानीयको गुनासो सम्बोधन गर्नुपर्ने अवस्था रहेको उनले बताए । मेट्रिक एड्रेसिङ सिस्टम हाउजिङ नम्बर अर्थात घरको डिजिटल नम्बर राख्ने काम पनि छिटै हुने उनले बताए । डिजिटल प्लेट नम्बरको ठेक्का लगाइसकेको उनले जानकारी दिए ।

काम सम्पन्न भएपछि घरघरमा डिजिटल बोर्ड हुने छ । ५० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने र उपचार गराउने गरेको अधिकारीको भनाइ छ । मृत्यु शैयामा पुगेपछि नभै स्वास्थ्यमा समस्या नदेखिए पनि परीक्षण गराउने व्यवस्था गरेको जानकारी गराए । नगरपालिकाले बच्चा जन्मनासाथ ५ हजार रुपैयाँ पुरस्कार स्वरुप दिने नीतिगत निर्णय गरेको जानकारी दिए । “उक्त रकम १८ वर्षपछि निकाल्न पाउनेछ । जुन रकम उसको अध्ययनका लागि काम लाग्न सक्छ । किनकी सबै नागरिक सम्पन्न हुँदैनन् । नगरपालिका सम्पन्न हुँदै गएपछि रकम पनि बढाउन सकिने छ ।

यो मैले गरेको काम भविष्यमा आउने अन्य जनप्रतिनिधिले निरन्तरता दिउन भन्ने चाहना छ ।” उनले भने । मृर्गौला र क्यान्सरका रोगीलाई पनि सहयोग गरेको नगर प्रमुखले जानकारी दिए । फलफूल खानकै लागि कसैसँग माग्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे । रोगको प्रकृतिअनुसार ३५ हजार, ५० हजार दिने गरेको छ । रेडक्रससँग सहकार्य गरेर रगत व्यवस्थापन पनि गरिएको उनले जानकारी दिए । सबै हातेमालो गरेर काम गर्न सके टोखालाई अझै सुन्दर र विकसित पालिका बनाउन सकिने अधिकारीको विश्वास छ । आफूले सबै वडाध्यक्षहरुसँग मिलेर काम गर्दै आएको उनले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले नगरपालिकाले विभिन्न आरोह अवरोह पार गर्दै आजको दिनसम्म आइपुगेको उल्लेख गरे ।

विगतको तुलनामा यस नगरपालिकामा धेरै सकारात्मक परिवर्तन भएको उनले बताए । नगरबासी, दल, संघ संस्था, जनप्रतिनिधि, कर्मचारीलगायतको प्रयासले नगरपालिकाले सफलता हासिल गरेको उनको भनाइ छ । नगरपालिकाकले पहिलो पञ्चवर्षीय योजनामा कला संस्कृतियुक्त स्वच्छ समुन्नत टोखा नगर भन्ने अवधारणामा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए । स्थापना दिवसको अवसरमा नगरपालिकाले विहान प्रभातफेरी कार्यक्रम गरेको थियो भने दिउसो रक्तदान कार्यक्रम गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।